काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई छापामारको संज्ञा दिएका छन् । आइतबार नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरुको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी छापामार शैलीमा उत्रिएको बताएका हुन् ।
उनले भने, ‘मैले देख्दा त अहिलेको सरकार ‘छापा–मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन-छापा, मार् सरकार ।’उनले सरकारको कदम प्रतिगामी र स्वतन्त्रता विरोधी भएकाले यो धेरै लामो समय नटिक्ने बताए । एमाले स्वतन्त्रताका निम्ति लड्दै आएको पार्टी भएकाले अझै पनि त्यसका लागि लडिरहने बताए ।
उनले भने, ‘हाम्रो सङ्घर्ष कहिले कहिले धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला । अहिले फेरि रोक्ने कोसिस भइरहेको छ । अबका प्रतिगामी, स्वतन्त्रता विरोधी र संकिर्णतावादी कदमहरू लामो समयका लागि हुनै सक्दैनन् । १०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो । त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।’
अध्यक्ष ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको भन्दै मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको बताए ।उनले आन्दोलनरत पत्रकारहरूलाई हरेस नखान आग्रह गरे । आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे ।
ओलीले सञ्चार क्षेत्रको स्वतन्त्रताको सवाल एमालेका लागि पनि महत्वपूर्ण विषय भएको बताए। आफूहरू स्वतन्त्रताको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले पत्रकार तथा सञ्चारकर्मीको आन्दोलनमा पार्टीको साथ रहने बताए।
उनले भने, ‘यो तपाईंहरूको मात्रै अहिले तपाईंहरू त्यो जबमा, त्यो पेसामा हुनुहुन्छ त्यसकारण तपाईंहरूलाई सरोकार जस्तो लाग्छ। हाम्रो त उद्देश्य नै त्यही हो, गन्तव्य नै त्यही हो, हाम्रो त कामै त्यही हो, हाम्रो ड्युटी नै त्यही हो।’ओलीले स्वतन्त्रताको पक्षमा भएको संघर्षमा आफूहरूले जेलनेल, पिटाइ तथा यातनासमेत भोगेको उल्लेख गरे। उनले सञ्चारकर्मीहरूलाई आफ्नो संघर्षमा विश्वस्त भएर अघि बढ्न आग्रह गरे।

