शुक्रबार, भदौ २६, २०८३

बीमा अभिकर्ता संघद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १२ लाख १ हजार १११ सहयोग

काठमाडौं । भोटेकोशीलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रधानमन्त्री विपद् राहत कोषमा १२ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

पेशागत बीमासंघ नेपालका राष्ट्रिय अध्यक्ष ओमबहादुर केसीले वरिष्ठ उपाध्यक्ष दीपक अर्याल, महासचिव कल्याण विक्रम पाण्डे र कोषाध्यक्ष नानीमाया सापकोटा सहितका पदाधिकारीको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

संघका अनुसार नेपाल लाइफ, नेशनल लाइफ, एलआईसी नेपाल, हिमालयन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, सन नेपाल लाइफ, एशियन लाइफ तथा प्रभु महालक्ष्मी लाइफका बीमक समितिहरूबाट प्राप्त रकम एकमुष्ट संकलन गरी संघमार्फत राहत कोषमा हस्तान्तरण गरिएको हो।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट जनधन तथा भौतिक संरचनामा क्षति पुगेको अवस्थामा प्रभावितको तत्कालीन राहतसँगै पुनःस्थापनाका लागि सरकारको प्रयासलाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको संघले जनाएको छ। विपद्को समयमा सरकारी संयन्त्रको प्रयास मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकले आफ्नो क्षमताअनुसार राहत तथा पुनःस्थापनाको अभियानमा सहयोग गर्नुपर्नेमा संघले जोड दिएको छ।

यसमा तपाईको प्रतिक्रिया