सोमबार, भदौ ३१, २०८१

गोला प्रथाबाट भूकम्प पीडितलाई ट्याक्सी वितरण

काठमाडौ,८ असार । सरकारले १४ जिल्लाका एक हजार पाँच सय भूकम्पपीडितलाई बुधबारदेखि ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भएको छ। यातायात व्यवस्था विभागले ललितपुरको च्यासल फुटबल ग्राउन्डमा सर्वसाधरणकै उपस्थितिमा गोला प्रथा गरी तीन दिनसम्म नम्बर वितरण गर्न लागेको हो। विभागले ट्याक्सी नम्बर प्लेट वितरण तीनदिन वितरण गर्ने कार्यतालिका बनाएको छ। असार ७ गते काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोला प्रथाबाट ट्याक्सी नम्बर वितरण गरिने जानकारी दिनुभयो।यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४८ हजार नौ सय ६५ जनाले आवेदन दिएका छन्।

यसैगरी दोस्रो दिन बिहीबार अर्थात् असार ८ गते दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पाँच सय १३ जनालाई पनि गोला प्रथाबाट नै ट्याक्सी नम्बर वितरण गरिनेछ। यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ५१ हजार तीन सय १२ जनाको आवेदन परेको छ। यसैगरी गोला प्रथाको अन्तिम दिन असार ९ गते अर्थात् शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका चार सय ९६ जना भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण हुने भएको छ। यी आठजिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार तीन सय ११ जनाले आवेदन दिएका छन्।

विभागले सबै आवेदकलाई एउटै बाकसमा हालेर गोला प्रथा गर्न असम्भव भएकाले जिल्लाअनुसार कोटा निर्धारण गरेको जनाएको छ। एउटै बाकसमा हालेर गोला प्रथा गर्दा कुनै एउटा जिल्लाका आवेदकले मात्रै बढी ट्याक्सी नम्बर प्लेट पाउने अवस्था रहने भन्दै समानुपातिक वितरणका लागि जिल्लाबाट आएका आवेदक संख्याअनुसार कोटा निर्धारण गरिएको पाण्डेले जानकारी दिए।

गोला प्रथाबाट ट्याक्सी नम्बर प्लेट पाउने भूकम्पपीडितले कहिलेसम्म ट्याक्सी खरिद गरी नम्बर दर्ता गराउनुपर्ने भन्ने विषयमा विभागले समय तोकेको छैन। ट्याक्सी नम्बर प्लेटका लागि कुल एक लाख ४९ हजार पाँच सय ८८ आवदेक छन्। आवेदक संख्यालाई कुल वितरण हुने ट्याक्सी नम्बर प्लेट संख्याले भाग गरी जिल्लाअनुसार कोटा निर्धारण गरिएको छ। विभागले गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लाका आमनागरिकसँग आवेदन लिएको थियो। आवेदन लिँदा एक सय रुपैयाँ र पीडितको सक्कल प्रमाणपत्रको प्रतिलिपि पनि लिइएको थियो ।

आवेदको संख्या बढी भएकै कारण वितरणमा ढिलाइ भएको पाण्डेले बताए। विभागले फागुन २४ गतेसम्म पीडितको नामावलीमा त्रूटि वा विवरण फरक परेमा सञ्चाउन समेत सयम दिएइको थियो। विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियतथ वा अनुदान नदिइने उनले स्पष्ट पारे ।