शुक्रबार, असोज ०५, २०८०

टोकियोको नाकानो हलमा बृहत अन्तर्क्रिया कार्यक्रम हुँदै

टोकियो,८ असार । टोकियोमा ’समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका’ विषयक बृहत अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रममा जापानका लागि पूर्व नेपाली राजदूत समेत रहीसक्नुभएका शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपती प्राडा केदारभक्त माथेमा, बिबिसी नेपाली सेवाका पूर्व प्रमुख समेत रहनुभएका चर्चित पत्रकार रवीन्द्र मिश्र र चर्चित पत्रकार प्रेम बानियाँ प्रमुख वक्ता रहनुहुने बताईएको छ ।
समृद्ध मुलुक निर्माण गर्ने अभियानको मुल प्रवाहमा प्रवासमा रहेका नेपालीहरुलाई के कसरी सहभागी गराउन सकिन्छ र उनीहरुको भूमिका के हुन सक्दछ भन्ने अत्यन्त महत्वपूर्ण बिषयमा अतिथि वक्ताहरुको गहन विचार सहितको सम्बोधन रहने आयोजक संस्था दिगो बिकासका लागि पारस्परिक मैत्रि समुह जापानले जनाएको छ ।

कार्यक्रम आउँदो जुलाई महिनाको २ तारिख आइतवार टोकियो नाकानोस्थित जिरो हलमा हुने भएको हो ।
उक्त कार्यक्रम संभवत जापानमा हालसम्मकै नितान्त फरक र प्रेरणादायी हुने आयोजकको दावी छ । कार्यक्रमलाई अधिकतम फलदायी, पृथक र नमुनायोग्य बनाउन बिभिन्न उपसमितिहरु मार्फत कार्यविभाजन गरी तयारीलाई तिब्र पारिएको संयोजक महेश श्रेष्ठले बताउनुभयो ।
आयोजक स्रोतकाअनुसार बिदेशमा रहेका विद्वत वर्गले हासिल गरेका ज्ञान, सीप, दक्षता र शिक्षालाई राज्यको नीति निर्माण लगायत मुलुकको शैक्षिक स्तरोन्नती एवं आर्थिक बिकासमा के कसरी जोड्न सकिन्छ भन्ने बिषयमा प्रा। डा। माथेमाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने बिदेशमा रहेका नेपालीहरुले नेपाललाई समृद्ध बनाउन के कसरी योगदान पुर्‍याउन सक्छन भन्ने बिषयमा पत्रकार मिश्रले आफ्नो धारणा राख्नुहुने छ । यसैगरी पत्रकार बानियाँले ’युवा पुस्तामा देखिएको बैदेशिक मोह र समृद्ध मुलुक निर्माणमा युवा दायित्व’ बिषयमा बोल्नुहुने कार्यक्रम छ । अतिथि वक्ताहरुसंग सहभागीहरुले बिषयकेन्द्रित अन्तर्क्रिया पनि गर्ने छन
यसप्रकारको कार्यक्रम डायस्पोरिक नेपाली समुदायमा विरलै हुने भएकोले उक्त कार्यक्रम नछुटाउन जापानबासी नेपालीहरुमा आयोजक संस्थाले अपील गरेको छ ।