बिहिबार, जेठ १४, २०८३

४२ विधामा अवार्ड प्रदान गर्दै सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न

काठमाडौं । ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४  सम्पन्न भएको छ । बिहिबार ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित समारोहमा विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै निम अवार्ड कार्यक्रम सम्पन्न गरिएको हाे ।

समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कार्यक्रम एकदमै राम्रो भएकोमा प्रशंसा गर्दै यस्ता कार्यक्रमहरुले नव प्रतिभालाई प्रोत्साहन मिल्नका साथै गीत संगीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै, बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रसँसनीय कार्य गर्दै बताए ।

यस वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित भएका थिए भने संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए ।

यसैगरी, कार्यक्रममा ५ हजार ५५५ राशीको यस वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरिएकाे थियाे । ४२ विधा अन्तर्गत आधुनिक गीत तर्फ नव गायक अवार्ड राजु भट्ट, नव गायक जुरी अवार्ड सन्त बहादुर दराई, नव गायिका अवार्ड प्रिजा मिश्रलाई प्रदान गरिनुका साथै आधुनिक विधा तर्फ भने गायक यस कुमार, गायिका निता आचार्य, संगीतकार नरहरी प्रेमी, गीतकार टेक तामाङ र आधुनिक महिला गीतकार सविता पोख्रेललाई अवार्ड प्रदान गरिएको थियोे ।

यस्तै, राष्ट्रिय भाव गीत अवार्ड कर्मा, गलज अवार्ड रुद्रशेखर शर्मा, गजलकै जुरी अवार्ड संगीता राना प्रधान र युगल गायन अवार्ड मोहन श्रेष्ठ/ सहिमा श्रेष्ठले सँयुक्त रुपमा हात पार्न सफल भएका थिए । यसैगरी पप गायक अवार्ड डेविड शँकर, गायककै डायस्पोरा अवार्ड चेष्टर लिम्बू, लोक पप गायन अवार्ड नविन कार्की, गीतकार अनिल तिखत्रीले, संगीतकार मानस राजले अवार्ड हाँसिल गरेमा थिए ।

यस्तै, लोकदोहोरी तर्फ पुरुष मोडल  सागर लम्साल (बले), महिला मोडल एन जेड सालु,महिला मोडल जुरी अवार्ड प्रमिता राजघतानी, नव मोडल पुरुष बसन्त उदास र नव मोडल महिला मिशेल घिमिरेले अवार्ड हाँसिल गरेका थिए भने लोक गीततर्फ मौलीक गीत हेमन्त कान्छा रसाईली र उत्कृष्ट म्युजिक भिडियो निर्देशक कमल एक्चै मगरले अवार्ड प्राप्त गरेका थिए ।

कार्यक्रममा लोकदोहोरी तर्फ गीत रचनाको अवार्ड सागर बाँस्तोलाले, लयको आवर्ड ऋषि खड्काले, गायकको अवार्ड राम कुमार नेपालीले, गायिकाको अवार्ड सञ्जु न्यौपाने हाँसिल गरे ।समारोहमा नव महिला मोडल तर्फ नै पब्लिक च्वाईस अवार्ड पुनम श्रेष्ठले, कोरियोग्रफरको अवार्ड राहुल बराईलीले, म्युजिक एरेन्जरको अवार्ड सुदिप सागरले प्राप्त गरेका थिए ।

उक्त कार्यक्रममा आधुनिक -पप गीति तर्फ भिडियो निर्देशकको अवार्ड केशव राज भट्टले, पुरुष मोडलको अवार्ड राज टाईगरले, महिला मोडलको अवार्ड अश्विनी शाहीले र लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सृजन बरालले हाँसिल गरेका थिए भने प्राविधिक विधा तर्फ ध्वनी मिश्रणको अवार्ड नरेन्द्र वियोगीले, छायाँकारको अवार्ड मुकेश हुमागाईले, म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईले पाए ।

यस्तै, समावेशी तर्फ डेउडा गीतको अवार्ड शान्ति शाहीले, मैथली भोजपुरी तर्फ गीतको अवार्ड प्रेमनारायण झाले, गायनको अवार्ड विरेन्द्र कुमार झाले, म्युजिक भिडियो अवार्ड मुन्ना कुमार र जुरी अवार्ड बद्री शाहले हाँसिल गरे भने नेपाल भाषातर्फ गीतकारको अवार्ड नातीकाजी महर्जनले, संगीतकारको अवार्ड मनराज नकर्मीले, गायनको अवार्ड मोहन शाक्यले, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शन वीर शाक्यले प्राप्त गर्न सफल भए ।

कार्यक्रममा पिम नेपालका अध्यक्ष माधव राज खरेलले विगत ७ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको बताए ।

यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो सृँखलादेखि नै आफु सल्लाहकारको रुपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भएको बताए ।

कमला जोशीकाे संयाेजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शान्तिप्रियले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने व्यवस्थापनमा सनम कठायतका साथै निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माईला रहेका थिए ।