सोमबार, भदौ २४, २०८१

रामेछापका पाठकको हत्याका आरोपी वडा सदस्य ९ महिनापछि पक्राउ

काठमाडौं । रामेछापका गणेश पाठकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ का वडासदस्य निकोसेरा भनिने ४० वर्षीय लालबहादुर थापा मगरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–३२ जडिबुटी क्षेत्रबाट आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । पक्राउ परेका वडासदस्य थापा मगरलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको परिसरले जनाएको छ ।

गत असार २० गते दोरम्बा सल्लेनी भिरमा ४१ वर्षीय गणेश पाठकको शव भेटिएको थियो । खेतमा पानी लगाउन जान भनि १६ असारमा निस्केका पाठकको चार दिनपछि शव फेला परेको थियो ।

पीडित पक्षले दोरम्बा शैलुङ गाउँपालिका–५ का रुजन श्रेष्ठ, रुद्रबहादुर नगरकोटी, हिराबहादुर श्रेष्ठ र शैलुङ–३ का प्रकाश कँडेल र वडासदस्य लालबहादुर थापा मगर विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी परेपछि फरार रहँदै आएका थापा मगरलाई प्रहरी ९ महिनापछि पक्राउ गरेको हो ।