झापा,६ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै पार्टीमा आवद्ध भए पनि देश निर्माणका लागि चुनावमा एमालेलाई साथ दिन मतदातासँग आग्रह गरेका छन् ।
सोमवार कन्काई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकारमा रहंदा एमाले र अन्य पार्टीले कसरी काम गरेका थिए तुलना गरेर देशहितमा रहेको एमालेलाई मतदान गर्न उनले आग्रह गरे ।
ओली तीन दिने चुनावी कार्यक्रम सहित सोमबार झापा आइपुगेका हुन् । ओलीलाई स्वागत गर्न हजारौंको जुलुश भद्रपुर विमानस्थल पुगेको थियो ।
‘एमालेले सरकारको नेतृत्व गर्दा कसरी काम गर्छ देख्नु भएको छ, अरु पार्टीले सरकारको नेतृत्व गर्दा के के गर्छन् त्यो पनि देख्नु भएको छ’ ओलीले भने, ‘अरु पार्टीमा अल्मलिएका साथीहरुलाई पनि म भन्छुः देशको समृद्धि र हितका लागि एमालेलाई मतदान गर्नुस् देश समृद्ध हुँदा तपाईंहरु पनि समृद्ध हुनुहुन्छ ।’
उनले आफू प्रधानमन्त्री हुँदा थालेको पूर्वपश्चिम रेल र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको योजना केही वर्ष भित्रै सार्थक हुने पनि वताए । ‘कसैले पहाडका मात्रै कुरा गर्छन्, कसैले मधेसका मात्रै कुरा गर्छन्, कसैले हिमालका मात्रै कुरा गर्छन् । एमाले मधेस, पहाड र हिमाल सबै ठाउँमा बस्ने जनताको पार्टी हो’ ओलीले भने, ‘म प्रधानमन्त्री भएको बेला पूर्व–पश्चिम, केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउने योजना थालनी गरेको छु । हिमाल, पहाड, तराई सबैतिर त्यसले समृद्धि ल्याउँछ ।
कार्यक्रममा कांग्रेस, माओवादी लगायत पार्टीका सयौं कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।