बुधबार, बैशाख १२, २०८१

नेपाली दूतावासको ओसाकामा चार दिने घुम्ति शिविरबाट ७५० बढीले लिए सेवा

जापान । नेपाली राजदूतावास टोकियो र एनआरएनए जापानको समन्वयमा ओसाकामा आयोजित चार दिने घुम्ति शिविरबाट अहिलेसम्मकै धेरै नेपाली तथा जापानीहरुले समेत सेवा लिएका छन् ।
नेपाली राजदूतावास जापानका तृतिय सचिव ज्ञानहरी ज्ञवालीका अनुसार चार दिने घुम्ति शिविरबाट नयाँ पासपोर्ट आवेदन, हराएको वा म्याद सकिएको लगायत कारणले पासपोर्ट नविकरणका लागि आवेदन मात्रै ७१७ जनाले गरेका छन् ।

यस बाहेक कागजात प्रमाणिकरण १०, यात्रा अनुमतिपत्र ६, अधिकृत वारेसनामा ४, कागजात जारी ३ र मन्जुरिनामा २ जनाले लिएका छन् ।
दूतावासको घुम्ति शिविरबाट जापानी नागरिक तथा जापानको पासपोर्ट बाहक करिव २ सय जनाको लागि नेपालको १५ दिन तथा ९० दिनको भिषा सेवा समेत उपलब्ध गराइएको छ ।
ज्ञवालीका अनुसार प्रत्यक्ष सेवा लिने व्यक्तिहरुको संख्या ७ सय ४१ रहेपनि दूतावासले उपलब्ध गराउने अन्य सेवाका बारेमा जानकारी लिएका तथा प्राविधिक तथा केहि कागजात अपुग भएर फर्कनुपरेका सेवा ग्राहिहरु समेत गर्दा करिव १ हजार व्यक्तिले ओसाका घुम्ति शिविरबाट सेवा लिएका छन् ।

चार दिने घुम्ति शिविरबाट दूतावासले १ करोड ३० लाख जापानी येन राजश्व समेत संकलन गरेको छ ।

दूतावासले उपलब्ध गराएको घुम्ति शिविरमा फेब्रुवरी १७ देखि २० तारिखसम्म चार दिननै बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सेवाग्राहिहरुको चाप उच्च रहँदा दूतावासका कर्मचारीहरुलाई सेवा उपलब्ध गराउन हम्मेहम्मे परेको थियो ।

नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख अम्बिका जोशीका अनुसार एनआरएनए कान्साई सहित स्थानिय संघसंस्थाका व्यक्तिहरुको सहयोग र समन्वयकारी भूमिकाले हामीले सोचे अनुसार सेवा उपलब्ध गराउन सकेको बताउनु भयो ।

घुम्ति शिविरमा सेवा प्रदान गर्न नेपाली राजदूतावासको तर्फबाट द्धितीय सचिव नारायण ज्ञवाली, तृतिय सचिव ज्ञानहरी ज्ञवाली, फुकुओका अवैतानिक वाणिज्य दूतावासका सचिव दिपक देवकोटा लगायत प्राविधिक कर्मचारीहरु खटिनुभएको थियो ।

गैरआवासीय नेपाली संघ जापानका पदाधिकारीहरु सहित ओसाका क्षेत्रका विभिन्न संघसंस्थाका व्यक्तिहरुले दूतावासको घुम्ति शिविर सफल रुपमा सम्पन्न गराउन सहयोग तथा समन्वयकारी सहजकर्ताको रुपमा सहयोग गरेका थिए ।