शनिबार, बैशाख १५, २०८१

दुई कृति विमोचनसहित गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सम्पन्न

जापान । विश्व नेपाली साहित्य महासङ्घ, जापान शाखाको आयोजनामा कविद्वय प्रविण लामा ‘अपरिचित’को ‘सिनकानसेनको देशबाट’ लोकार्पण, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचनअन्तर्गत जापान विमोचन तथा कवि सयपत्री थुलुङ विशेष गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सम्पन्न भएको छ ।

विशिष्ट अतिथिको रूपमा रहनुभएका नेपाली भाषा र साहित्यप्रेमी जापानी नागरिकहरू हारुहितो नोजु र युको ओकामोतोद्वारा सामूहिक दीप प्रज्वलन गरी नेपाली राष्ट्रियगान बजाएर कार्यक्रम शुरु भएको थियो ।
विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’को प्रमुख अतिथि र विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय महासचिव सुनिता राई कन्दाङ्वा विशिष्ट अतिथिको रूपमा भर्चुअल माध्यमबाट तथा भौतिक उपस्थितिमा अनेसास जापान शाखाका अध्यक्ष अरुण पौडेल, जनजाति पत्रकार महासङ्घ जापानका अध्यक्ष फुर्वा शेर्पा लगायतले सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जेको सामूहिक विमोचन गरेका थिए ।

गङ्गा गगनको स्वागत मन्तव्यसॅंगै अगाडि बढेको कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा कृतिहरूको विमोचन तथा लोकार्पित कृतिका सर्जकहरूको भनाइ सुनिएको थियो । त्यसै गरी भौतिक तथा भर्चुअल माध्यमबाट अतिथिहरूको शुभकामना मन्तव्य सेसन थियो । भर्चुअल माध्यमबाट जोडिएका कवि राजु स्याङतानले ‘ओ पेङ्दोर्जे’ एउटा दस्ताबेजको रूपमा दाबी गर्दै नवपुस्ताको लागि यो कवितासङ्ग्रहले सेतुको काम गर्ने बताए । “पेङ्दोर्जे मेरै पुस्ताले खोज्नुपर्थ्यो र मैले खोजें”, उनले अगाडि थपे । लोकार्पित ‘सिनकानसेनको देशबाट’को सर्जक प्रविण लामा ‘अपरिचित’ले आफ्नो कर्मथलो जापानमा सिनकानसेन(बुलेट रेल) जसरी हरेक विकासका कामहरू द्रुत गतिमा कुद्छन् । त्यसरी नै आफ्नो मातृभूमि समेत भइदिए हुन्थ्यो भन्ने आशयमा लेखिएका कविताहरू सङ्गृहीत भएको बताए । अझ भनौँ नैतिक दबाब देशसम्म पुगोस् भन्ने चाहना रहेको बताए ।

दोस्रो चरणमा खुला रचना वाचन रहेको थियो । बिमन किराती, म्यामराज राई, दिलिप राई, गंगा गगन, अनिलकुमार ‘निर्दोष’, अरुण पौडेल, राजन घले, उमेश तिमिल्सिना, विजय स्याङ्बो लगायत करिब एक दर्जन साहित्यकारहरूले विभिन्न विधामा आफ्ना रचना सुनाएका थिए ।

कार्यक्रमको महत्त्वपूर्ण भाग अर्थात गाउॅं फर्किरहेको परदेशी टोकियो साँझ तेस्रो चरणमा राखिएको थियो । उक्त चरणमा कवि सयपत्री थुलुङ्को एकल कविता वाचन राखिएको थियो । करिब एक दर्जन जति वाचित उनका कविताहरू भर्खरै बजारमा आएको गाउॅं फर्किरहेको परदेशी कवितासङ्ग्रहमा सङ्गृहीत छन् । सयपत्रीको काव्य सामर्थ्य स्रोता, दर्शकलाई आफ्ना कवितामार्फत सुदूर सम्झनामा पुराउनु हो । यो साँझले पनि साँच्चिकै सबैलाई मन्त्रमुग्ध बनायो । करिब ४० जना जति साहित्यप्रेमीहरूको उपस्थिति रहेको हलमा तालीको गडगडाहटले गुञ्जायमान भएको थियो ।
कार्यक्रम समापन हुनुपहिले अर्थात अन्तिम चरणमा गङ्गा गगनको शब्द र भ्वाइस अफ नेपाल, सिजन -५ का विजेता विनोद राईको सङ्गीत र स्वरमा रहेको ‘निबुखोले सोल्टिनी’ बोलको गीत सार्वजनिक गरिएको थियो । उपस्थित दर्शकहरू कम्मर मर्काउॅंदै छमछमी नाचेका थिए ।

स्मरण रहोस्, विनेसाम, जापान शाखाका लामा सदस्य, सयपत्री सहसचिव तथा गगन सचिव समेत हुन् । करिब तीन घण्टासम्म चलेको कार्यक्रम विनेसामका महासचिव रविन्द्र दिखुक्पाले सञ्चालन गरेका थिए । सभाध्यक्षको रूपमा रहेका विनेसाम, जापान शाखाको अध्यक्ष देवीबहादुर इङ्नाम लिम्बुले भर्चुअल तथा भौतिक रूपमा उपस्थित हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।