बिहिबार, बैशाख ०३, २०८३

हामी कहिले सुध्रिने डियर एनआरएनए ?

रामहरी खपांगी मगर ।
गैरआवासीय नेपालीहरुको संगठन NRNA को अधिवेशन भई निर्वाचन प्रकिया कार्यहरु सम्पन्न हुने क्रममा छ ।
विगतमा झैं धेरथोर बिबाद नगरि चित्त नबुझ्ने पुरानो आदत सक्किएको देखिदैन त्यसैले केही दिन अझै लाइमलाइटमा NRNA नेताहरुलाई देख्न पाइएला नै ।
आँफै पनि NRN परेको नाताले सम्झनालाई २-४ पंक्ति लेखिराख्दा उचित देखियो तर म NRN बनेको देशले लखेटेर, कानुनले नमिलेर, सरकारले अप्ठेरो पारेर होइन बरु बाले जत्तिकै मेहेनत गर्न नसकेर, आमा जत्तिकै सहनशील बन्न नसकेर र अरु साथीभाइ जत्तिकै थोरैमा चित्त बुझाउन नसकेर ठुलो भाग खोज्नलाई हो ।
अधिबेशनको दौरान पूर्वमन्त्री रामकुमारि झाँक्रीको प्रतिकृयालाई केही पेशा सम्बद्ध बिषयलाई मात्रै छोडेर शतप्रतिशत सहमति जनाइयो ।

कुनै नेपाली बिदेश जानुको कारण र नेपाल नफर्किने योजनामा देशको भन्दा धेरै ब्यक्तिको इच्छा र नियतीमा भर पर्ने कुरा निस्चित हो । केही सिक्न बुझ्न पढ्न या कमाउन परदेश लागेका कैयौं नेपाली मध्य युरोप, अमेरिका, अस्ट्रेलिया, जापान जानेहरु उतै बस्न रुचाउने अझ देशको पासपोर्ट नै त्याग गर्न गरेको हर्कत हामी सबैलाई अबगत नै छ । कुनै पनि मुलुकले आफ्नो देशको पासपोर्ट न भट्टिमा रक्सी बेचे झैं बेच्छ न कसलाई चाइयो हात उठाउ भनेर माया गरेर दिन्छ बरु कैयौं प्राबधान सम्झाएर निजको देशको पासपोर्ट त्यागेर सोही पासपोर्ट लिने देशको नागरिक बन्ने र सोही परिधि भित्र रहने कानुनी सक्झौतामा दिन्छ । हो यसरी अर्काको देशको नागरिक बन्ने प्रोसेस् बुझेर आफ्नो देशको नागरिक नरहन इच्छा गरेका कैयौं NRN नेताहरुले देशलाई गाली गर्ने र अझ देशको राजनैतिक प्रशासनिक अधिकार पनि चाइयो भनेर माग्दा रामकुमारीहरुको गाली खानु स्वाभाबिक छ अझ पुगेन भन्दा फरक नपर्ला ।
कानुनी रुपमा अरुको देशको नागरिक बनेर आफ्नो देश सँग सम्बन्ध बिच्छेद गर्नेहरुले यो बुझ्न जरुरी छ कि पारपाचुके पछी पूर्व श्रीमतीलाई टाढै बाट माया गर्न, सम्झिन पाइएला तर अझै मेरो पहिलो श्रीमती मेरो अधिकार मैले भने झैं लाउ, मैले भने झैं खाउ, म भेट्न आउँदा मलाई ति सबै अधिकार देउ जुन पहिले दिन्थ्यौ भन्नु उस्तै हो ।
यो पंक्तिकारलाई मान्नुहुन्छ या संघको नामको आधार हेर्नु हुन्छ भने त यि पासपोर्ट धारी हरु पूर्व नेपाली हुन इनिहरु प्रबास बस्ने नेपाली हरु NRN होइनन् ।

अब NRNA को कुरा :-
उपेन्द्र देबकोटाहरुले बिदेश बस्ने नेपाली हरुको हकहितको लागि खोलेको संघ अचेल दुइटा पासपोर्ट बोकेर दुबै देशको नागरिकता चाइयो दुबै ठाउँ संसद मन्त्री बन्न पाउनु पर्‍यो भन्ने ठाउमा पुगेको छ । यही रफ्तारमा जाने हो भने पासपोर्ट भाको दुबै देशमा स्वास्नि राख्न पाउनु पर्‍यो भन्नेमा नपुग्ला भन्न सकिन्न । सबै नेताको ध्यान दोहोरो पासपोर्ट,संसद बन्ने इच्छा, भोट गर्ने अधिकारमा केन्द्रित हुँदा प्रबासमा नेपालीले भोग्ने पिडा समस्यामा भने कोही सचेत छैनन् । सोल्टी क्राउन प्लाजामा स्याम्पेन् फोडेर बसेकाहरुले कतारको गर्मिले बेहोस् भएकाहरुको आवश्यकता लाई बुझेका छैनन्, दुबैको सेखले जागिर बाट निकालेको दु:ख लाई हेरेका छैनन्, नजानिदो गल्तिले साउदीमा मृत्‍युदन्ड कुरेर बसेका हरुको पहल गर्न सकेका छैनन्, परदेशमा जीबन सकेका हरुको लास हेर्ने आफन्तको इच्छा पुरा गर्न सिन्का भाची काम गर्न सकेको छैन, रगत पसिना बगाएर नेपाल जादा लगेको १ थान टिभीको इन्ची नापेर पैसा माग्दा बोल्न सकेको छैन, अरु त अरु यही जापानको नेपाली रेस्टुरेन्टमा आफ्नै दाजुभाइलाई महिनामा २ दिन बिदा नदिने, तलब नदिएर धम्काउने साहुको बारेमा बेखबर छन् ।

यस्ता समस्या कोट्याए कती छन् कती तर NRN को सपना सिर्फ एउटा दलको नजिक बन्ने अलिक पैसाको घमन्ड देखाएर चुनाव जित्ने र उही फोहोर आहालमा पौडी खेल्ने भन्दा ज्यादा देखिन्न ।
NRNA को निर्वाचनको लागि २/२ बर्षमा नेपालको तारे होटलमा रबाफ देखाउन जाने हरु सधैं भोटिङको अधिकार माग्ने यतै ओछ्यानबाट भोट् गर्न पाउनु पर्छ भन्ने तर ५ बर्षमा १ पटक हुने आम निर्वाचनमा देश जान नसक्ने कुरा पनि अब सोच्न आबश्यक छ ।

प्रस्ट छ जो नेपाली नागरिक हो उसलाई नेपालको हरेक अधिकार प्राप्त हुनेछ जो नेपाली नागरिकता त्यागेर बिदेशी बन्दा आफुलाई मैहु सम्झिन्छ, कमाएको सम्पत्ती अद्रिश्य श्रोत मार्फत नेपालमा ब्यबस्थापन गर्छ उसलाई पूर्व देशको कानुन कस्तो बन्ने भनेर माग्ने अधिकार छैन किनकी उनिहरु सिर्फ पूर्व नेपालीहरु हुन् । बरु घरखेत् बन्दक राखेर खाडी मुलुक जाने बर्षमा कमाएको २-४ लाखलाई कानुनी माध्यम बाट देश पठाएर परिवार पाल्नेहरु असली NRN हुन र उनैले मागेका मागहरु जायज हुन् ।

दोरम्बा ५ रामेछाप
हाल जापान