सोमबार, बैशाख ०७, २०८३

एनआरएनएको अध्यक्षमा डा.बद्री केसीको औपचारिक उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा.बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा तय भएको संघको ११ औँ विश्व सम्मेलनका लागि वर्तमान कार्यकारी अध्यक्ष समेत रहेका केसीले बुधबार दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
केसीले ९ बुँदे प्रतिवद्धतासहित २०२३-०२५ कार्यकालका आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

अनलाइनमार्फत आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा केसीले संघकै अभियानको प्रभाव र सम्मानस्वरुप नेपाल सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुला गरेको बताए ।
उम्मेदवारी घोषणा गर्दै डा.केसीले भने,‘कार्यकारी अध्यक्ष भएकाले मतदाताको नामावली प्रकाशन नभएसम्म उम्मेदवारी घोषणा गर्न नैतिकताले दिएन । अब विवाद रहित स्वच्छ प्रतिस्पर्धाको आधारमा निर्वाचन हुने छ।’

काठमाडौंको फर्पिङमा जन्मिएका डा.केसी अमृत साइन्स क्यम्पसमा अध्ययन गरेका उनी उच्च शिक्षा अध्ययनकोलागि रुस प्रस्थान गरे। संस्थापक उपेन्द्र महतो, जिवा लामिछानेसंगै एनआरएनए अभियानमा जोडिएका हुन्।

सन् २००३ मा काठमाडौंमा भएको सम्मेलनमा केसीको उपस्थिती रहेको थियो। स्थापनाकालदेखिनै एनआरएन अभियानको एउटा सिपाहीका रुपमा अनवरत् क्रियाशील हुन पाएको बताउँदै अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गरे। ‘महासचिव हुँदा भारतले नेपालमा नाकाबन्दी गर्दा विश्व स्तरमा विरोधका काम गर्न पाए,’ उनले भने। अध्यक्षको कार्यकालमा नागरिकता कानुन बनाउन र एनआरएनएलाई ट्रयाकमा ल्याई स्वच्छ निर्वाचन गराउने चरणमा रहेको बताए । आगामी कार्यकालमा विधानलाई सच्चाउँदै सबै सदस्यले मतदान गर्न पाउनेगरी काम गर्ने बताए। फेसियल भेरिफिकेसनको प्रणाली विकास भैसकेकाले पञ्जिकृत सदस्यले मतदान गर्न व्यवस्था गर्ने विश्वास दिलाए।

‘संघकै अभियानको प्रभाव र सम्मानस्वरुप नेपाल राष्ट्रले हामीलाई गैरआवासीय नेपाली ऐन (२०६४) मार्फत् कानुनी मान्यता दियो, नेपाली नागरिकताको सुनिश्चितता गर्ने बाटो खोल्यो । जसलाई यसै बर्षको नागरिकता ऐन संशोधनले टुंगोमा पु–याएको छ, त्यसको कार्यन्वयननिम्ति हालै कार्यविधिसमेत बनिसकेको छ’, केसीले भने, ‘प्रवासी नेपालीलाई नेपाली नागरिकता सहज र वैज्ञानिक ढंगले उपलब्ध गराउने विषयमा हाम्रो नेपाल सरकार र सरोकारवालाहरुसँग निरन्तर सहकार्य चलिरहनुपर्ने छ ।’

विदेशमा गैरआवासीय नेपालीहरुले प्राप्त गरेको स–साना पुँजी र सीपलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यले आवश्यक ऐन कानून बनिसक्नु पनि विशिष्ट उपलब्धि भएको उनको भनाइ छ ।
‘गैरआवासीय नेपालीहरुको सक्रियतामा नेपालमा सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ । विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउने संस्थागत प्रयास भएका छन्’, केसीले भने, ‘संघमार्फत विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । १० अर्ब लगानीको कोषको माध्यमबाट विदेशमा वा भनौँ मध्यपूर्वका खाडी मुलुक एवं मलेसिया लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीको सानो पूँजीलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनेको छ ।’

यस्ता छन् डा. केसीका प्रतिबद्धता
संघको अध्यक्ष पदमा विजयी भएको खण्डमा आफूले गर्ने कामको फेहरिस्त प्रस्तुत गर्दै केसीले यससम्बन्धमा विभिन्न प्रतिबद्धता जनाएका छ । जसअनुसार उनले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीमा जोड दिएका छन् ।

वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकार, श्रम गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने केसीको प्रतिबद्धता छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने, विदेशको श्रम बजारमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष तथा पेन्सन फण्डमा सहभागी गराउन पहल, अन्तर्राष्ट्रिय श्रम बजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी छुट्टै श्रम तथा सीप बैंक स्थापनाका लागि पहल गर्ने जस्ता प्रतिबद्धता पनि केसीले जनाएका छन् ।
यसबाहेक विदेशमा रोजगारी गुमाई नेपाल फर्किएकाहरुलाई उनीहरुको सीप र क्षमता अनुसार नेपालमै रोजगारीको अवसर दिलाउन नेपाल सरकारसँग समन्वय गर्ने पनि केसीको प्रतिबद्धता छ ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीको अभिलेख तयार गरी उनीहरूलाई उत्पादनमूलक क्षेत्रमा सहभागी गराउन नेपाल सरकारको सहकार्यमा ‘आफ्नै माटो, स्वावलम्बी बाटो’ अभियान सञ्चालन गर्ने केसीको प्रतिबद्धता छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तर कागजी प्रक्रिया नपुगेका नेपालीहरुको अलपत्र शव नेपालमा ल्याउन लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न पहल गर्ने, युरोपेली, अमेरिकी ओसेनीया क्षेत्र एवं जापान, हङकङ, दक्षिण कोरिया लगायतका देशसहित नयाँ आकर्षक श्रम गन्तव्यको पहिचान गरी सम्वद्ध देशसँग श्रम सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य लगायत पनि उनको प्रतिबद्धता छ ।

नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाइने केसीको प्रतिबद्धता छ । सुरुवाती पूँजी १० अर्ब रूपैयाँ रहेको यस फण्डलाई आगामी दिनमा थप बृहत बनाइने उनको भनाइ छ ।

यसैगरी संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण गर्ने पनि उनको प्रतिबद्धता छ । जसअनुसार संशोधित विधानमा ल्याइएका नयाँ प्रस्तावहरु पूर्ण कार्यान्वयनमा ल्याउने, संघको पञ्जीकृत सदस्यतालाई वृद्धि गर्दै विश्वभर छरिएर रहेका नेपालीलाई एकसुत्रमा बाँध्ने गरी सदस्यता विस्तार गर्ने, गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै उठाएको १८३ दिन भन्दा बढी विदेशमा बस्ने नेपालीहरुलाई गैरआवासीय नेपाली परिभाषित गर्ने तथा विद्यार्थीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न पहल गर्नेलगायतका विषय उनले आफ्नो प्रतिबद्धतामा समेटेका छन् ।

यसैगरी गैरआवासीय नेपालीका हक हित अधिकारका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै केसीले त्यसका लागि नेपाल सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नेपाली सम्बन्धि ऐन लगायतका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै विदेशमा बस्ने नेपालीहरुलाई राजनीतिक अधिकारसहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गरिने पनि उनको भनाइ छ ।

यसैगरी गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्ने, नेपालीहरुको बाक्लो उपस्थिति भएका देशहरुमा दुतावास स्थापना गर्न तथा दुतावास स्थापना गर्न सम्भव नभएका मुलुकमा कन्सुलेट कार्यालयको व्यवस्था गर्नसरकारको ध्यानाकर्षण गराउने, नेपाल मुल भएका तर पुस्तौंदेखि विदेशमा नेपाली समुदाय (म्यानमार, थाइल्यान्ड, मलेसिया, मौरिसस, बु्रनाइलगायतका मुलुकमा रहेका) नेपाली भाषीलाई पनि एनआरएन कार्डको माध्यमबाट कानूनी आधारसहित नेपालसँग जोड्ने प्रयत्न गर्ने जस्ता विषय उनले आफ्नो प्रतिबद्धतापत्रमा समेटेका छन् ।

ज्ञान, सीप र प्रविधिसहितको एनआरएन बनाउने प्रतिबद्धता जनाउँदै उनले संशोधित विधानमा व्यवस्था भएको एनआरएनए पेशागत तथा प्राज्ञिक इकाइ स्थापना गरी सक्रिय रुपमा सञ्चालन गर्ने बताएका छन् । यस्तै ज्ञान तथा विज्ञ सम्मेलनलाई थप प्रभावकारी र सहभागीतामूलक बनाई निरन्तरता दिने, नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रूपमा अघि बढाउने केसीको प्रतिबद्धता छ ।

यस्तै एनआरएनए फाउण्डेसनमार्फत राष्ट्रिय-अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थाहरूसँग आवधिक कार्ययोजनाका साथ सहकार्य गर्ने, सहयोगपूर्ण सहभागिता र योगदान एवं कदर लगायतका विभिन्न स्कीमहरू ल्याउने, नेपाल एवं नेपाली पर्यटन प्रवर्धन गर्ने, संघमा युवा, महिला तथा दोस्रो पुस्तालाई जोड्न कार्यक्रम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय संघ—संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि केसीले जनाएका छन् ।
उम्मेदवारी घोषणासभामा उनको टीममा उम्मेदवार रहेकाहरुको पनि उपस्थिति रहेको थियो ।