शनिबार, असोज १३, २०८०

बेलायतबाट महेश श्रेष्ठद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा, पौडेलको समर्थन

लण्डन । गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३-०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।
एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले बेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।
वर्तमान उपाध्यक्ष श्रेष्ठले विस्तृत एजेन्डा सहित छिट्टै नेपालबाट औपचारिक घोषणा गर्ने पनि जानकारी दिनुभयो ।

उपाध्यक्ष श्रेष्ठले संघ अहिले निकै विषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताउनु भयो ।
उनले देशले एनआरएनहरुबाट ठूलो अपेक्षा गरेको बताउंदै नेपालको समृद्धिमा योगदान गर्न र विदेशमा बस्ने नेपालीहरुको हक सुरक्षित गर्न आफुले रणनीतिक योजना बनाएको पनि बताउनु भएको छ ।
संघका महासचिव डा. केशव पौडेलले आफू अध्यक्ष पदको आकांक्षी हुँदै गर्दा पनि संघको बृहत् एकतालाई ध्यानमा राखी एक कदम पछाडी हटेर भए पनि अब केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको उद्घोष गर्नु भयो ।

सहमतिको आधारमा नयाँ नेतृत्व चुन्न आग्रह गर्दै संघलाई एकजुट गरेर अगाडी बढाउन सक्ने उम्मेदवार महेश श्रेष्ठलाई आफुले अध्यक्ष पदमा समर्थन गर्ने घोषणा गर्नु भयो ।

उपाध्यक्ष नारायण आचार्यले पनि सहमतिको आधारमा सबैलाई समेट्न सक्ने नेतृत्व चयन गर्न आग्रह गर्नु भयो ।

यसैगरी महासचिव पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, एनआरएनएको सचिव पदमा उम्मेदवारी घोषणा गरेका एनसीसी पोर्चुगलका पूर्व अध्यक्ष भिम कमल केसी, एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष दिपक गौतमले पनि संघमा एकता र सहकार्य अरु बढी आवश्यक रहेको बताउनु भएको छ।

समारोहमा गैरआवासीय नेपाली संघका उप महासचिवद्वय रामशरण सिम्खडा, उप-महासचिव गङ्गाधर गौतम, युरोप उपसंयोजकद्वय दयानिधि शर्मा तथा कृष्ण तिमल्सेना, युरोप युवा उपसंयोजक रोवर्ट लिम्बु, पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दिपक गौतम, पूर्व आइसीसी सदस्य अनुजा प्रधान, प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्ग भद्र भुसाल, नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना दिनु भयो।

संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले तीनजना अध्यक्ष भए पनि आफुहरुले संस्थाको मर्यादा जोगाएर काम गरीरहेको बताउनु भयो ।
गैर आवासीय नेपाली संघको ग्लोबल सम्मेलन आउँदो अक्टोबर १७-१९ तारिख काठमाडौमा हुँदैछ