बुधबार, असोज ०२, २०८१

जापानमा विद्यार्थीको भोगाई र भविष्य

शालीक राम भट्टराईं, टोकियो ।
-पछिल्लो समय जापान नेपाली विद्यार्थी विद्यार्थीका लागी आकर्षक गन्तव्य बन्दै गैरहेको छ । दिनानुदिन देशको अवस्था नाजुक हुँदै जानू, नेपालको शैक्षिक प्रणाली सिपयुक्त, दक्ष जनशक्ति निर्माणमा भन्दा पनी सैदान्तिक र घोकन्ते शिक्षा प्रदान गर्नमै सिमित रहनु, डिग्री हासिल गरिसक्दा पनि रोजगारीको सुनिश्चितता नहुनु जस्ता कारणले गर्दा हाल नेपाली बिध्यार्थीहरु कक्षा १२ को परिक्षा दिनासाथ जापान, अष्ट्रेलिया, क्यानडा, युएसए जस्ता देशमा भविष्य खोज्न भौतारी रहेका छन । त्यसो त नेपालमा च्याउ जस्ता शहरदेखि गाउका कुना कन्दरा सम्मै खोलिएका अध्ययनका लागि बिदेश पठाउने कन्सल्टेन्सिहरुले विद्यार्थी १२ को परिक्षा सक्न नपाउदै परिक्षा केन्द्रका गेटमै आकर्षक ढंगले बनाइएका पम्पलेट, ब्रोसर बाडन पुग्नु, बास्तबिकता भन्दा नि बनावटी रुपमा झुटा सपना देखाएर परामर्श दिनु र कलिला मस्तिस्कले तिनै रंगिन सपनाको संसारमा चुर्लुम्मै डुबि केहि नबुझी, नसोचि अध्ययनका लागि बिदेश हानीने क्रम निकै बढेको छ ।

आज म विशेषगरि बिद्यार्थी भिषामा जापान आउने विद्यार्थीले यहा आउनु अघि ध्यान दिनुपर्ने कुराका बारेमा केहि चर्चा गर्ने प्रयत्न गर्दैछु । मैले देखेको, सुनेको नेपाली बिध्यार्थिले भोगेका भोगाइ, पिडालाइ शब्द चित्रमा उतार्ने कोशीस गर्दै छु ।
विद्यार्थी भिषामा जापान जाने भनेको कती कमाइ हुन्छ दाइ? यो प्रस्न लगभग धेरै बिध्यार्थी भाइबहिनिहरुले मलाई सोध्ने गरेको साझा प्रस्न हो । हो, यहि प्रस्नबाट नै प्रस्ट हुन्छ नेपाली बिध्यार्थिहरु जापान अध्ययनका लागि भन्दा पनि यहाँ आएपछि मनग्य कमाउन सकिन्छ भन्ने सुनौला सपना बोकेर आउने गर्दछन । जुन सपना पूरा गर्नका लागि बुवा आमाले साहुसंग मोटो ब्याजदरमा ऋण खोजेर जापान अध्ययनका लागि पठाउने गर्दछन ।

जापान गयो भने त लाख लाखका बिटा पठाउछ जाबो १२/१५ लाख त तिरिहाल्छ नि भनेर बाबुआमाले सहज रुपमा पठाउने गर्दछन । परिवारको छ्त्रछाया र रेखदेखमा रहेका अल्लारे उमेरका अझ गाउघरको भाषामा भन्नुपर्दा बिध्यार्थी जो पारीवारीक जिम्मेवारि, घर, ब्यवहार दुख, पिडा केहि भोगेका हुदैनन । जो अभिभावकको काखमा जिद्दी गरेर, त्यो पनि नभए रोएर आफ्ना हरेक आवस्यकता पूरा गर्दै आएका भरखरै १७/१८ बर्षमा पाइला टेकेका आमाले पकाएको मिठो खादै नजिकैको बिध्यालयमा पढदै गरेका बिध्यार्थी यो बिरानो रंगिन शहरमा, यहाँको भाषा, रहनसहन, सबै नया हुन्छ एकातीर भने अर्कोतिर पढाइ, संगै काम गर्दा पढाइ र कामको समय ब्यवस्थापन गर्न नसक्दा मानसिक तनाब संगै शारीरिक थकान हुने गर्दछ ।
प्लस 2 अध्ययन गरि आएका बिध्यार्थीले यहा आएर २ बर्ष जापानीज भाषा बिध्यालयमा अध्ययन गर्नुपर्छ । त्यसपछि २ बर्ष भोकेसनल वा ४ बर्ष दाइगाकु अध्ययन गर्ने गर्छन । त्यसपछि मात्रै खाइस्या (कम्पनि ) खोजेर कामदार भिजाको लागि अप्लाइ गर्ने गर्दछन । सुरुमा आउदा बिध्यार्थिले १ बर्षको भाषा बिद्यालयको फिस, ६ महिनाको होस्टेल फिस, आदि नेपालबाट नै तिरेर आउने भएता पनि केहि महिना पछि बिध्यार्थी स्वयमले यहि काम गरि सबै खर्च जुटाउनुपर्छ ।
भाषा बिध्यालयले हप्तामा २८ घन्टा काम खोजिदिने भनेर भन्ने गरिएता पनि सबै भाषा बिध्यालयले दिएको पाइदैन । जसको फलस्वरुप यहाको खर्च धान्न निकै धौ धौ हुने गर्दछ । अर्को कुरा नेपालमा साहु संग चर्को ब्याजदरमा लिएको ऋणको ब्याजले झनै तनाब थप्ने गर्दछ । नेपालमा भएका बुवा, आमाले पनि गएको यती महिना भयो अब त पैसा पठाउनुपर्ने किन पठाएनन भन्दै जापान आएका छोराछोरिले पैसा पठाउने आशामा बस्दछन ।

जापानमा पढाइ, काम, जिम्मेवारीको राप र तापले कती विद्यार्थीहरु डिप्रेशनको शिकार हुने गरेका छन । समय- समयमा सुनिने, पढीने आत्महत्याको घटना यहि डिप्रेसनका कारण घटने घटना हुन।

सुतिरहेको अवस्थामा मृत भेटिने घटना पनि बाक्लै सुन्ने गरिन्छ । पढाइ, काम, मानसिक चिन्ता, निन्द्रा, खानपान आदिको तारतम्य नमिल्दा हुने घटना हुन। पढाइ, कामले शरिरको तापक्रम बढिरहदा कोठामा आएर एसि लगाएर सुत्ने गर्दा पनि यस्ता घटना बढदै गैरहेको कतिपय जानकारहरु बताउछन ।

समग्रमा भन्नु पर्दा जापान सुनेको, सोचेको र देखेको सपना जस्तो पक्कै छैन । यहा आएर समुद्रको तटमा, सुन्दर पार्कमा र रंगिबिरङि आलिसान महल र फराकीला चिल्ला सडकमा आइफोनले खिचेका संगैका साथी संगी र दाजुदीदिहरुको आकर्षक तस्बिरले कतिलाइ तानेर जापान ल्याएको छ । तर त्यो बनावटी मन्द मुस्कान र धेरैलाई मोहिन पार्ने तस्बिरका पछाडीका पिडा, आशु र रोदन बेग्लै लुकेका छन ।

सबै भन्दा पहिला परिवार, समाजले अध्ययनका लागि जापान जाने हो । तत्काल पढाइ संगै पैसा कमाउनका लागि होइन भन्ने बुज्नुपर्छ । यहा आउने बिद्यार्थीले पनि पढाइ, काम एकैसाथ गर्नुपर्दा निकै गार्हो हुन्छ । कहिल्यै परिवार छाडेर अल्ली लामो समय कतै नगएका यो बिरानो शहरमा एक्कासी आउदा धेरै चुनौती आइपर्छन ती चुनौती संग सहज रुपमा सामना गर्न सक्छु भने मानसिक रुपले तम्तयार भएर यहा आउनुपर्छ । अहिले मेहनत गरेर अध्ययन गर्छु, भबिस्यमा घर परिवार संगै आफ्नो सपना पूरा गर्छु भन्ने दृढ संकल्प लिएर अगाडी बढेमा पक्कै सफल भइन्छ नै । बिध्यार्थी भिषामा आएर लोभलाग्दो प्रगती गर्नेहरु नि जापानमा धेरै छन । त्यसैले अरुको लहै लहै मा भन्दा पनि यहाको बास्तबिकता बुझेर, आउदा सफलता प्राप्त हुने नै छ । नेपालका शैक्षिक परामर्शदाताहरुले नि भए नभएका मनगणन्ते भ्रम भर्नुभन्दा नि कलिला मस्तीस्कमा यहाको बास्तबिकतालाइ केन्द्रबिन्दुमा राखेर उचित परामर्श र सल्लाह सुझाब दिनु पर्दछ ।
राज्य र राज्यको सम्बन्धित निकायले सकेसम्म युवा विद्यार्थीहरुलाई देशमै रोजगार वा शिपमूलक शिक्षा प्रदान गरेर देशको मुहार र विकासको लागि प्रोत्साहन गर्नु पर्दछ ।

नवलपुर हाल टोकियो जापान