जापान । एनआरएनए आईसीसीको ११ औं विश्व सम्मेलन तथा महाधिवेसन एक्टुवर १७ देखि २० तारिख सम्म काठमाण्डौंमा हुने भएको छ।
आइतवार बसेको बैठकले संघको अगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । आगामी अधिवेसनमा युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ प्रतिशत र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको छ ।
यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क रहेको थियो । बर्षौदेखीको नियमलाई आफूमुखी बनाउदै उक्त निर्णय गरिएपछि संघको पदाधिकारीको तिब्र आलोचना गरिएको छ ।
बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने भएको छ । पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फट आफैले प्रतिनिधि दावी गर्न सक्ने जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयवाट केन्द्रमा सिफारिश गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।
बैठकले विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएसँग गत जुन महिनामा प्रधानमन्त्रीलाई साक्षी राखेर भएको सहमतिलाई आगामी १२ अगष्टमा हुने विशेष अधिवेसनबाट अनुमोदन गर्ने निर्णय गरेको छ । उक्त अनुमोदनपछि दुबै एनआरएनए एक हुनेछ ।
बैठकले ११ औं महाधिवेसनमा नयां नेतृत्वको लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
एनआरएनएको निर्वाचन सम्बन्धी कार्यतालिका भने केही हप्तापछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ ।
एनआरएनएको नयाँ नेतृत्वको लागि आरके शर्मा, महेश श्रेष्ठ, बद्री केसी, केशव पौडेल र रविना थापाले तयारी सुरु गरेका छन ।