टोकियो । टोकियोमा अगष्ट ८ तारिख आयोजना हुन लागेको देशकै सर्वाधिक लोकप्रिय नेपथ्य व्याण्ड कन्सर्टको अनलाइन टिकट विक्रि अगष्ट ५ तारिखसम्म मात्र खुला हुने भएको छ ।
नेपथ्य लाइभ कन्सर्टको आयोजक भिजोनिया कम्पनीका अनुसार हलको क्षमता अनुसारको टिकट विक्रि अन्तिम चरणमा पुगेकाले अनलाइन टिकट खरिद ५ तारिख साँझबाट बन्द गरिन लागिएको हो । यसैगरि हाल ६,००० मूल्यको टिकट उपलब्ध रहेपनि अनलाइन टिकट विक्रि रोकिएसँगै ७,००० येनको सिमित टिकट मात्र उपलब्ध हुनेछ । यस बाहेक भिआईपी टिकटको रुपमा १०,००० येनको टिकट सिमित मात्रामा उपलब्ध रहेको जनाउँदै आयोजकले यो टिकट लिने व्यक्तिलाई एउटा नेपथ्य व्याण्डको तस्विर सहितको टिसर्ट र नेपालको राष्ट्रिय झण्डा उपलब्ध गराइने बताएको छ ।
नेपथ्य व्याण्डको लाईभ कन्सर्टको दिन आउन एक साता मात्र बाँकी रहँदा अनलाइन मार्फत १,८०० टिकट विक्रि भएको छ । अगष्ट ८ तारिख मंगलबार टोकियोमा कन्सर्ट आयोजना गर्न नेपथ्य व्याण्ड मानवताको लागि संगीत भन्ने मुल नाराकोका साथ जापान आउँदैछ । टोकियो कन्सर्टको टिकट ओकुबो स्टेशन नजिक रहेको काठमाडौं लाउण्ज एण्ड बार नेवाः डाइनिगं र सिबुयामा रहेको लोकल सिबुया रेष्टुरेण्टबाट पनि अगष्ट ५ तारिखसम्म खरिद गर्न सकिनेछ ।
६ तारिखबाट भने कन्सर्ट आयोजक भिजोनिया कम्पनीको किता सिन्जुकुमा रहेको कार्यालय वा अग्रिम पैसा डिपोजिट गरेर जानकारी गराइ कन्सर्ट आयोजना हुने तोयोसु पिट हलमा कन्सर्ट समयको एक घण्टा पहिलेनै उपस्थित भएर टिकट लिन सकिने आयोजकले जनाएको छ । कन्सर्ट अगष्ट ८ तारिख मंगलबार तोसोसु पिटको हलमा साँझ ६:३० बजेबाट सुरु हुनेछ । कन्सर्ट हल भने ५ बजेबाटनै प्रवेश खुला हुनेछ । टोकियो तोयोसुमा रहेको तोयोसु पिटको कन्सर्ट हुने भव्य हलको क्षमता ३५ सय जना रहेको छ ।
कन्सर्ट आयोजनाको दिन नजिकिंदै गर्दा अगष्ट १ तारिखसम्ममा अनलाइन र टिकट विक्रि स्थानहरु समेतबाट गरेर करिव २,२०० टिकट विक्रि भएको आयोजक भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछानेले जानकारी दिए । लामिछानेले हलको क्षमता भन्दा एउटा पनि बढि टिकट विक्रि गर्न नपाइने भएका कारण समयमै टिकट खरिद गर्न आग्रह गरे । कन्सर्ट आयोजनाको १ साता अघिनै करिव ९० प्रतिशत टिकट विक्रि भएपछि कन्सर्ट हाउसफुल हुने देखिएको छ । कन्सर्ट व्यवस्थापनको टिकेटिगं तथा सिस्टम म्यानेजमेन्ट डेस्टिनि क्रियशनले गरिरहेको छ । विशेषगरि टोकियो बाहिर रहेका तथा सबै विवरण उपलब्ध गराएर कन्सर्ट हुने दिननै हलमा टिकट लिन चाहनेका लागि सिमित मात्रामा ७,००० येन शुल्कको टिकट उपलब्ध गराइएको छ ।