शुक्रबार, असार ०१, २०८१

कविताको लय र जीवनका रङ्गहरू कार्यक्रम सम्पन्न(फोटोफिचर)

टोकियो । अनेसास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा जापानको राजधानी टोकियोमा एक फरक र विशेष कार्यक्रम सम्पन्न भएको छ।

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यता तथा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेरणादायी कथावा चक तथा वक्ता सुधन ज्ञवाली, कविहरू सविना रेग्मी, आनन्द अधिकारी र अज्ञात मान्छे प्रमुख आकार्षणका रूपमा रहनुभएको थियो ।

जापानमा बढिरहेको नेपाली समुदाय र यसमा देखिएका विभिन्न किसिमका सामाजिक तथा मानसिक समस्याहरूलाई मध्यनजर गरेर वक्ता सुधन ज्ञवालीले विभिन्न उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्नुभएको थियो।

टोकियोमा रहेर नेपाली कवितामा सक्रिय बनिरहनुभएका तीन कविहरूका कविताले कार्यक्रममा प्राण भरेका थिए। साथै कार्यक्रमलाई थप सुन्दर र आकर्षक बनाउनका लागि वाद्यवादकहरू खड्ग पुन मगरको बाँसुरी र धन पुनको सारङ्गीको धुन कविताका लयहरू सङ्गै गुञ्जिएका थिए।

कार्यक्रमलाई सफल बनाउन जापानमा क्रियाशील विभिन्न संघसंस्थाहरूले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए। गुल्मेली समाज जापान कान्तो क्षेत्रीय समिति, बागलुङ समाज जापान, पर्वत समाज जापान, चितवन समाज जापान, पाल्पा समाज जापान तथा सुप्रिम म्यानेजमेन्टले सहआयोजकको रूपमा कार्यक्रमलाई सहयोग गरेका थिए।

त्यसैगरी सुमेघ टुर एन्ड ट्राभल्सले यात्रा सहयोगीको रूपमा सहयोग गरेको थियो। जापान ग्लास इन्डस्ट्रीको सभाहलमा सम्पन्न कार्यक्रममा जापानका विभिन्न स्थानबाट दुई सय बढीको सहभागिता रहेको थियो।अनेसास जापानका सचिव अनिलकुमार निर्दोषको सहजीकरणमा सम्पन्न कार्यक्रमको संयोजन अनेसास जापानका अध्यक्ष रविन शर्माले गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाद्वय एनआरएनए जापान र अनेसास जापानको तर्फबाट कार्यक्रमका प्रमुख वक्ता, सुधन ज्ञवालीसहित कविहरू आनन्द अधिकारी, सविना रेग्मी, अज्ञात मान्छे तथा वाद्यवादकहरू खड्ग पुन र धन पुनलाई सम्मानपत्र तथा मायाको चिनो अर्पण गरिएको थियो।