शनिबार, बैशाख ०८, २०८१

तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ भकुन्डेबेसीमा हुने

काभ्रे । काभ्रेपलाञ्चोकको भकुन्डेबेसीमा तीनदिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को आयोजना गरिने भएको छ । सोमबार बनेपामा पत्रकार सम्मेलन गरी ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले भकुन्डेबेसीमा आगामी जेठ २५ गतेदेखि उक्त महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।

चलचित्र विकास बोर्डको सहयोगमा सेलिब्रेटी नेपाल नामक संस्थाले आयोजना गर्न लागेको उक्त महोत्सवमा ग्रामीण परिवेशमा आधारित २६ चलचित्र तथा ‘डकुमेन्ट्री’को प्रदर्शनीसमेत गरिने छ । यही जेठ २५, २६ र २७ गते खुलारूपमा चलचित्र प्रदर्शन गरिने संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार ग्रामीण मानिसलाई ग्रामीण परिवेशका चलचित्र देखाउने अर्को उद्देश्य हो ।

महोत्सवमा प्रदर्शन गरिएका चलचित्र तथा डकुमेन्ट्रीलाई उत्कृष्ट १० विधामा अवार्ड प्रदान गरिने उहाँले बताउनुभयो । साथै महोत्सवमा सरोकारवालाबीच ग्रामीण परिवेशमा आधारित चलचित्रका समीक्षासमेत गरिने योजना बनाइएको छ । चलचित्र विकास बोर्डले सहकार्य गरेको तीन दिने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ ।

नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा फिल्म दर्ता खुल्ला गरिएको थियो । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् ।

संस्थाले यसअघि गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सवको आयोजना गरेको थियो । महोत्सव आयोजनाले स्थानीयलाई मनोरञ्जनसँगै चलचित्रप्रतिको चासो तथा सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र नमोबुद्धमा चलचित्र छायाँङ्कनमा आकर्षण बढ्ने विश्वास गरिएको छ ।