जापान । टोकियोमा भोली आईतबार आयोजना हुने लोकगीत र आधुनीक गीतका लोकप्रिय कलाकारहरुको विशेष सांगितिक प्रस्तुती रहने रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
लोक दोहोरी तथा आधुनीक गीतका लोकप्रिय गायक बिमलराज क्षेत्री सहित चर्चित गायक कुलेन्द्र विश्वकर्मा, पछिल्लो समय धोकेवाज गीत मार्फत छुट्टै परिचय बनाएकी चर्चित गायीका एलिना चौहान र लोक दोहोरी गायिका सुस्मिता क्षेत्रीले आईतबार साँझ ६ बजेबाट सुरु हुने रमाइलो म्यूजिक एक्सप्रेसमा आफ्ना पुराना तथा नयाँ लोकप्रिय दुई दर्जन बढि गीत गाउने भएका छन् ।
आयोजक पर्वत समाज जापानका महासचिव राम प्रसाद बास्तोलाका अनुसार रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रममा लोकदोहोरी सम्मान गरिने तयारी छ । साथै कार्यक्रमको प्रचारप्रसार, म्यूजिक तथा अन्य आवश्यक व्यवस्थापनका काम सकिएको छ ।
कार्यक्रमको लागि हालसम्म १ सय ५० बढि टिकट विक्रि भइसकेको तथा करिव ५० वटा टिकट कार्यक्रम स्थलमा लिनेगरि बुकिगं आएको आयोजकले जनाएको छ । धेरै व्यक्तिहरुले टिकट बुकिगं नगराइ कार्यक्रम स्थलमानै आएर टिकट लिन जानकारी गराएकाले कार्यक्रम स्थल हाउसफुल हुने देखिएको आयोजकको भनाई छ ।
सांगितिक कार्यक्रममा लोकदोहोरी सम्मान स्वरुप जापानबाट नेपाली लोक तथा दोहोरी गीत, गायन तथा सृजनामा विशेष योगदान पुर्याउँदै आउनु भएका तीन जना श्रष्टालाई विशेष सम्मान गरिन लागिएको पर्वत समाज जापानका प्रवक्ता रविन शर्माले जानकारी दिनुभयो ।
यसरी सम्मानित हुन लागेकाहरुमा गायक तथा सर्जक रामकृष्णबम मल्ल, लोक दोहोरी गायक तथा सर्जकद्धय युवराज आचार्य र सुर्य खड्का रहनुभएको प्रवक्ता शर्माले बताउनुभयो । उहाँहरुलाई पर्वत समाज जापान लोक दोहोरी गीत संगित सम्मान २०८० बाट सम्मानित गरिने शर्माको भनाई छ ।
पर्वत समाज जापानका अध्यक्ष सुभास लामिछानेले कार्यक्रम भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ, कलाकारहरु एक हप्ता पहिलेनै जापान आइसक्नुभएको छ, प्रचारप्रसार सहित टिकट विक्रि समेत भइसकेको र जापानमै पहिलो पटक लोकदोहोरी विशेष सम्मान गर्न लागेका कार्यक्रम तोकिएकै समयमा सुरु हुने भएकाले समयमै उपस्थित हुन समाजले अनुरोध गरेको छ।

