जापान । समुद्री किनारामा फेला परेको शव मार्च १७ देखि हराइरहेकी आरती खनालको भएको पुष्टि भएको छ।
सोमबार ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परिक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।
खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुद्री किनारामा उनकै हुलियासंग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साघुरो बनाउदै डीएनए परीक्षणका लागि अस्पतालमा लगिएको र सोहि शव नै वेपत्ता खनालको रहेको पुष्टि भएको जानकारी प्राप्त भएको छ ।
के कारणले मृत्यु भएको हो भन्ने कारण नखुले पनि शवको प्रकृति अनुसार पानीमा डुबेर मृत्यु भएजस्तो देखिएको बताइएको छ ।
शवको नजिकै खनालले प्रयोग गर्ने गरेको साइकलको चाबी, कपडा फेला परेको थियो।
खनालको परिवारले आफ्नो छोरीको मृत्युको कारण हत्या भएको हुनसक्ने दावी गर्दै क़ानूनी प्रक्रियाका लागि आवश्यक पहल गरिदिन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन ।
जापानको ओशाका सिटीको इकोनो कु काट्सुयामा कित्तामा बस्ने नेपालको चितवन भरतपुर महानगरपालिका वार्ड नं -१२ की विद्यार्थी भिषामा १ वर्ष अघि जापान आएकी खनाल २ महिनाअघिबाट हराईरहेकी थिईन ।
बेपत्ता खनालको परिवारले आवश्यक खोजी कार्यको लागि एनआरएनए जापान र जापानका लागि नेपाली दूतावासलाई ज़िम्मेवारी दिएको थियो ।
प्राप्त ज़िम्मेवारी अनुसार एनआरएनए जापानले जापान प्रहरीसंगको समन्वयमा खोजतलास कार्यलाई तीव्रता दिएको थियो ।
परिवारले नेपाली दूतावास लगायत सरोकारवाला निकायसंगको आवश्यक समन्वयमा छलफल गरि निजको अन्त्येष्टि गरिने एनआरएनए जापानले जनाएको छ ।

