मङ्गलबार, बैशाख ०८, २०८३

नेपाललाई विपत पर्दा अग्रस्थानमा एनआरएनएले सहयोग गरेको छ : अध्यक्ष थापा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदकी अध्यक्ष रबिना थापाले नेपाललाई विपत पर्दा अग्रस्थानमा एनआरएनएले सहयोग गरेको बताउनु भएको छ ।

जापान भ्रमणका क्रममा आइतवार साँझ मोना समाज जापानले आयोजना गरेको स्वागत तथा डिनर कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
अध्यक्ष थापाले बोल्नेक्रममा नेपालको महाभूकम्प, कोभिड, बाढी पहिरो लगाएको ठुला विपतमा देखिने सहयोग गरेको र अन्य साना-साना सहयोग मातृभूमिलाई गैरआवासीय नेपालीहरुले धेरै गरेको बताउनु भएको हो ।
पंचेबाजासहित मोना जापानले स्वागत सम्मान गरेकोमा धन्यवाद दिदै अध्यक्ष थापाले एनआरएनएमा गोलबद्ध हुन अनुरोध गर्नु भयो ।
कार्यक्रममा संघका उप-महासचिव ओम गुरुङले यस संस्थाले महिला अध्यक्ष पाउनु सौभाग्य रहेको बताउनु भयो ।
त्यस्तै एनआरएनए एशियाका उप-संयोजक ददिवल खड्काले म्याग्जादेली चेलीले एनआरएनएको अध्यक्ष पाउनु गर्व रहेको बताउदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । सोही कार्यक्रममा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारीले महिलाहरुले स्थान पाए राम्रो काम गर्न सक्ने बताउदै जापानमा पनि महिलालाई नेतृत्व दिन आग्रह गर्नु भयो ।

मोना जापानका अध्यक्ष सचिन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम सागर कार्कीले संचालन गरि जापानका विभिन्न संघ-संस्थाका अग्रजहरुको उपस्थिति रहेको थियो ।