टोकियो,२७ बैशाख । नेपाली कथानक चलचित्र सायद २ ले आफ्नो पहिलो ग्राण्ड प्रिमियर शो जापानमा गर्ने लागेको छ ।
यही मे १४ तारिख नाकानो जिरो हलमा गरिने प्रिमियर शोका लागि चलचित्रका निर्माता सुनिल रावल, अभिनेता सुशिल श्रेष्ठ, सञ्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का जापान आएका छन् । निर्माता रावलसहितको टोली मंगलबार बिहान जापान आइपुगेको हो ।
युवापुस्ताको कथामा आधारित यस चलचित्रको नेपाल प्रदर्शन मिति असार ३० गते तय गरिएको छ ।
चलचित्र ‘सायद९२’ को प्रिमियर शोको सम्पूर्ण तयारी पूरा भएको जापानमा व्यवसाय गर्दै आएका चलचित्रका अर्का निर्माता ईश्वर श्रेष्ठले बताएका छन् । चलचित्रको प्रिमियर शोबाट उठेको रकम जापानमै रहेका सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीको छात्रवृत्तिको लागि सहयोग गरिने निर्माता श्रेष्ठले बताए । चलचित्रमा रावल र श्रेष्ठसहित सुबास लामिछानेको पनि लगानी रहेको छ ।
दुर्गिस फिल्मस्को व्यानरमा निर्मित यस चलचित्रमा सुशिल श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की, रुविना कार्की, वुद्धिलाल मगरको मुख्य भूमिका छ ।
पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा राजविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द, गोविन्द राई र विक्रम स्वारको कोरियोग्राफी छ ।