टोकियो । अनेसास जापानले टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६ औँ नियमित साहित्य शृङ्खला’ सम्पन्न गरेको छ ।
नयाँ वर्ष २०८० को अवसर पारेर जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा शुक्रवार कार्यक्रमको अध्यक्षता अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्माले र कार्यक्रम सञ्चनलन संस्थाका सचिव अनिलकुमार निर्दोषले गरेका थिए ।
स्वागत मन्तव्य तथा कार्यक्रममाथि प्रकाश संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक अरुण पौडेलले पारेका थिए ।
पोखराको इन्द्रेणी थिएटरसँग आवद्ध कलाकारहरु दीपेन्द्र पौडेल, कपिल शर्मा र केदारनाथ पौडेलको विशेष प्रहसन रहेको सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा अनेसास जापानका निवर्तमान अध्यक्ष प्रकाश पौडेल `माहिला´, अनेसास जापानका निवर्तमान अध्यक्ष गिरिजा गैह्रे, विद्यालयका प्रधानाध्यापक विष्णु भट्ट, बिओटी सदस्य शुष्मा ओमाता, अनेसास बाल समिति सदस्य तथा शिक्षक अर्जुन सडौला रहेका थिए । नेपालबाट जापानका विभिन्न शहरहरु घुम्ने सिलसिलामा नयाँवर्षकै दिन चलचित्रकर्मी प्रकाश सुवेदीको समेत साहित्यिक प्रस्तुति रहेको सो कार्यक्रममा गृष्मा पौडेल, एरिका सापकोटा, अस्मिता पौड्याल, मञ्जु गिरी, अरुण पैडेल, दीपा घिमिरे, यामा शेरचन, लगायत दर्जनौँ सर्जकहरूले आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माहिला’, रङ्गकर्मीहरू केदारनाथ पौडेल, कपिल शर्मा र दीपेन्द्र पौडेललाई प्रशंसापत्र प्रदान गरिएको थियो । संस्थाका सचिव अनिल कुमार निर्दोषको सहजीकरणमा सम्पन्न सो कार्यक्रमको समापन गर्ने क्रममा संस्थाका अध्यक्ष रविन शर्माले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने व्यक्तित्व, सहभागी र अतिथिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
कुनैबेला आफू पनि रङ्गमञ्चमा काम गरेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि डा. दुर्गाबहादुर क्षेत्रीले नेपाली रङ्गमञ्च, साहित्य र चलचित्र क्षेत्रको इताहास खोतलेका थिए । कार्यक्रममा बोल्ने क्रममा जापान यस्तो देश हो जहाँको निर्देशक नेपालमा गएर कठपुतली जस्तो लघुचलचित्र र शिरिषको फूल जस्तो उपन्यास माथि चलचित्र बनाएका थिए । मन्तव्यकै सिलसिलामा उनले भने “प्रकाश पौडेल ‘माहिला’ जस्ता होनहार प्रतिभा भएको जापानमा बस्ने नेपालीहरुले नेपालको रेमिट्यान्समा मात्र हैन साहित्यिक भण्डार बढाउन समेत ठूलो भूमिका खेलेका छन्”। अन्तमा उनले नेपाली कला र सहित्यको समृद्धिको लागि राजदुताबास सदा तत्पर रहने र सहयोगको लागि कुनै आनाकानी नगर्ने कुरा दृढ सङ्कल्पका साथ बताए ।
साना साना स्कुले नानीबाबूहरुदेखि व्यावसायिक लेखन गर्नेहरुको जमघट रहेको सो समारोह नेपालमा हुने कार्यक्रमहरु भन्दा अझै अब्बल र सफल रहेको कुरा कवि, गीतकार तथा चलचित्रकर्मी प्रकाश सुवेदीले बताएका थिए ।

