शुक्रबार, बैशाख १४, २०८१

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं,१८ वैशाख । नेकपा एमालेले महत्वाकांक्षी एवं लोकप्रिय कार्यक्रमलाई समेटेर स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गरे । ५२ पृष्ठ लामो घोषणापत्रमा समेटिएका मुख्य विषयहरु यस्ता छन्ः

सामाजिक सुरक्षा भत्ता ५ हजार

स्थानीय चुनावको घोषणा पत्रमा दलहरुबीच सामाजिक सुरक्षा भत्ता बढाउने होड नै चलेको छ । कांग्रेसले सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने भनेको छ । एमालेले ५ हजार पुर्‍याइने बाचा घोषणा पत्रमा गरेको छ ।

सबै स्थानीय तहमा जेष्ठ नागरिक आवासगृह निर्माण गर्ने र त्यहाँ विश्राम, मनोरञ्जन र निःशुल्क आवासको सुविधा उपलब्ध गराउने एमालेले बताएको छ ।

साथै सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ठ ५ हजार भत्ता दिने र कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी विदा दिने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

अनिवार्य स्वास्थ्य बीमामा, हरेक गाउँपालिकाको केन्द्रमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शैय्याका अस्पताल र प्रत्येक वडामा दक्ष नर्ससहितको प्रसुती केन्द्र स्थापना गर्ने एमालेले बताएको छ । उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, दमखोकी, क्यान्सर आदि घातक रोगहरूको औषधि, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क गर्ने एमालेको दाबी छ ।

१० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर

एमालेले १० बर्षभित्र नेपालीको प्रति व्यक्ति आय ५००० डलरभन्दा बढी पुर्‍याएर महत्वकाक्षी घोषणा गरेको छ । नेपाललाई पाँच वर्षभित्र नेपाललाई विकासशील र दस वर्षभित्र मध्यम आय भएका मुलुकहरूको तहमा स्तरोन्नत गर्ने उसले बताएको छ ।

एमालेले स्थानीय सरकार गठन भएको १ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने प्रतिवद्धता घोषणापत्रमा गरेको छ । साथै गरिबीको रेखा मुनि रहेका नागरिकलाई विशेष परिचयपत्र उपलब्ध गराइने बताएको छ ।

१० वर्षमा १५ हजार मेगाबाट बिजुली

एमालेले आगामी १० वर्षमा थप १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको छ । नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गरिने छ, एमालेले भनेको छ ।

कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने, तमोर जलाशय परियोजना तथा पश्चिम सेती, नलसिंगाड, नौमुरे र बुढीगण्डकी परियोजना छिट्टै सम्पन्न गर्ने र उत्पादन, खाना पकाउने लगायतका घरेलु प्रयोजन र उर्जा आवश्यक हुने सबै क्षेत्रमा विद्युतको उपयोग गर्ने एमालेले बताएको छ ।

‘बचेको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिनेछ’ एमालेले घोषणा पत्रमा भनेको छ, ‘गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युतको उपयोगमा सहुलियत दिइने छ । विद्युत् ऊर्जाले पेट्रोलियम ऊर्जालाई क्रमशः प्रतिस्थापित गर्दै लगिनेछ ।’

‘घर-घरमा बिजुलीः जन-जनमा शेयर’को नारा लिएको एमालेले जलविद्युत परियोजनाहरूमा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने बताएको छ । त्यस्ता आयोजनाहरूमा स्वदेश र प्रवासमा रहेका नेपाली तथा गैरआवासीय नेपालीलाई ४९ प्रतिशतसम्म शेयर खरिद गर्न दिइनेछ ।

सबैतिर रेल र राजमार्ग

एमालेले सडक र रेल यातायातका क्षेत्रमा पनि महत्वकांक्षी योजना अघि सारेको छ । राजमार्ग र रेलमार्ग बनाउँदा सुरुङ र उच्च पुल निर्माण प्रविधि पनि अपनाइने उसले बताएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी पाँच वर्षभित्र सबै राजमार्गको विस्तार गर्ने, काठमाडौं-तराई द्रूतमार्ग बनाउने र हुलाकी राजमार्ग निर्माण गर्ने एमालेले बताएको छ ।

पूर्व-पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, पाँच वर्षमा मध्यपहाडी पुष्पलाल राजमार्गलाई चार लेनको बनाउने र तराईका सबै जिल्लामा पूर्व-पश्चिम राजमार्गदेखि नेपाल-भारत सीमासम्म चार लेनका राजमार्ग बनाउने बताएको छ । हिमाली जिल्लाहरूका सदरमुकामदेखि नेपाल-चीन सीमानासम्म न्यूनतम दुई लेनका सहायक राजमार्ग निर्माण गरिनेछ, एमालेले भनेको छ ।

एमालेको घोषणापत्रमा पूर्व-पश्चिम राजमार्ग र मध्यपहाडी राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गर्ने, रसुवागढी-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग बनाउने र काठमाडौं-वीरगञ्ज रेलमार्ग निर्माण गर्ने पनि एमालेले बताएको छ । साथै काठमाडौँमा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गर्ने एमालेले दाबी गरेको छ ।