मङ्गलबार, चैत ११, २०८१

पर्यटनमन्त्री तामाङद्वारा ऐतिहासिक `बौद्ध तेमाल जात्रा´काे अवलाेकन(फाेटाे फिचर)

मायालु लामा, काठमाडौं ।  प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक एवं राष्ट्रिय पर्व तेमाल जात्रा साेमबार विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महाचैत्यमा मनाइएको छ ।

बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रूपमा रहेको जीवन्त पर्व हो । तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा छयोइमे बत्ती बालेका थिए ।

जात्राको पहिलो दिन आज बौद्ध स्तुप परिसरमा हजारौं दर्शनार्थीहरू सहभागि थिए । श्री बौद्धनाथ क्षेत्र विकास समितिकाे आयाेजना तथा बौद्ध तामाङ कल्याण गुठीकाे संयाेजनमा २१ वटा संघ संस्थाका स्वयम्सेवक खटेकाे क्षेत्र विकास समितका अध्यक्ष राजकुमार लामाले जानकारी दिए ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले जात्राको अवलोकन गरेका थिए । उक्त  अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, गुठीका अध्यक्ष जय मंगल लामा,काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामा, श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्ति माया तामाङ, सदस्यहरु पशुपतिनाथ श्याम खतिवडा, जानुका भण्डारी, रग्वा शेर्पा, सुरज रुम्बा, गुठीका उपाध्यक्ष साेनाम लामा, सचिव धर्मविर लामा लगायतकाे उपस्थिती रहेको थियो ।

परापूर्वकालदेखि चलिआएको तेमाल जात्राको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व रहेको राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा अवलाेकनका क्रममा पर्मयटनमन्त्री लामाले भने ‘यो पर्वको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ,’ ‘यो तामाङ समुदायको मूल जात्रा हो। यो जात्रालाई नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको छ। त्यसैले यो कहिलै बिर्सन नहुने जात्रा हो।’

जात्रालाई भव्य र सभ्य बनाउन विभिन्न संघसंस्था, गुठी, क्लबले निशुल्क पानी वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन र दर्शनार्थीहरूका लागि प्रसाद वितरण गरेका थिए।

त्यस्तै पुजा गर्न तथा बत्ती बाल्न लामकाे व्यवस्था गरिएको थियाे भने बौद्ध परिसरमा तामाङ फापरे व्हाई, डम्फु व्हाई आदिमा नाचगान गरी रमाइ रहेकाहरु पनि उत्तिकै मात्रामा देखिन्छन्।

प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने गरेकाले यस जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउने गरेको छ ।
यस जात्राका क्रममा पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगि पूजा गर्ने पनि चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना गर्दछन् ।

यस्तो छ ऐतिहासिक तेमाल जात्राकाे किंवदन्ती

तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुसीमा तेमाल जात्रा चलाएको किंवदन्ती रहेको छ। उनले १८९१ असोज २ मा तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ। अहिले सरकारले यस जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ।

यस स्तूपको गर्भमा काश्यप बुद्धको अस्तुधातु राखिएको छ। चिन्तामणिका प्रतीक मानिने  अष्ट मण्डलकारको यो स्तूप नेपाली वास्तुकलाको अनुपम उदाहरण हो। बौद्धमार्गीले यस स्तूपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्छन्।

अर्को बौद्ध किम्बदन्ती अनुसार सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेका थिए ।

सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन छ । यसरी विपश्वी बुद्धले कमलको बिज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ ।