बुधबार, जेठ १६, २०८१

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ४५ को मृत्यु, ८ वर्षीया बालिकाको जिवितै उद्धार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब ३२० किलोमिटर उत्तरमा रहेको लिम्पोपोको उत्तरी प्रान्तको मार्केन र मोकोपने बीचको एम्मा मतलाकाला पुलमा बिहीबार दुर्घटना भएको हो ।

४६ जना यात्रु बोकेको बस दुर्घटना हुँदा ८ वर्षीया बालिका बाहेक सबैको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् ।

उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । लिम्पोपोको यातायात र सामुदायिक सुरक्षा विभागले बसले मोइरा शहरमा इस्टर सप्ताहन्तको चर्च सेवामा भाग लिन यात्रा गरिरहेका मानिसहरूलाई बोकेको जनाएको छ ।

बसले नियन्त्रण गुमाएको र पुलको छेउमा गएर ५० मिटर तल चट्टानी सतहमा खसेर आगो लागेको विश्वास गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘केही शवहरू चिन्न नसकिने गरी जलेका थिए,जबकि अरू या त भग्नावशेषमा फसेका थिए वा नजिकै छरिएका थिए।’