आइतबार, भदौ ०७, २०८३

वार्ता विफल भएपछि अमेरिका–क्यानडा व्यापार युद्ध चर्कियो, दुवै देशद्वारा कर बढाउने तयारी

बीबीसी । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ चरणको करलाई ‘गलत आकलन’ भन्दै त्यसले क्यानडालाई ‘क्षति पुर्याउने र विभाजित गर्ने’ उद्देश्य राखेको आरोप लगाएका छन्।

शुक्रबार राति अमेरिका–क्यानडा व्यापार वार्ता विफल भएपछि शनिबार कार्नीले क्यानडेली नागरिकलाई सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। उनले वार्ताका क्रममा अमेरिकाले अत्यधिक माग राखेको तर त्यसअनुसार पर्याप्त प्रस्ताव नगरेको बताए।

कार्नीले क्यानडामाथि नयाँ अमेरिकी कर लागू भएसँगै दुई देशबीच व्यापार ‘युद्ध’को अवस्थामा पुगेको बताएका छन्।
उनले आगामी सेप्टेम्बर ८ देखि अमेरिकाले लगाउने करको जवाफमा क्यानडाले पनि ‘डलर बराबर डलर’का आधारमा प्रतिशोधात्मक कर लगाउने घोषणा गरे। स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण र इलेक्ट्रोनिक्सलगायतका वस्तुमा त्यस्तो कर लगाइने उनले बताए।

व्यापार वार्ता विफल भएपछि अमेरिकाले क्यानडेली वस्तुमा थप ५० प्रतिशतसम्म कर लगाएको छ। यसअघि नै क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम, सवारीसाधन र काठजन्य सामग्रीमा अमेरिकी कर लागू थियो।

नयाँ कर करिब २० अर्ब अमेरिकी डलर बराबरका क्यानडेली आयातमा लागू हुने बताइएको छ। यो क्यानडाबाट अमेरिकातर्फ हुने कुल आयातको करिब ५ प्रतिशत हो। वाइन, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा र हक्की उपकरणलगायतका वस्तु नयाँ करको दायरामा परेका छन्।

यसअघि दुवै देश व्यापार सम्झौतामा पुग्नेमा आशावादी देखिएका थिए। तर, वार्ताको अन्तिम चरणमा दुवै पक्षले एकअर्कामाथि सम्झौताका सर्तमा अन्तिम समयमा परिवर्तन गरेको आरोप लगाएपछि वार्ता भंग भएको हो।
कार्नीले क्यानडाले आफ्नो राष्ट्रिय हित संरक्षणका लागि बाध्य भएर प्रतिकारात्मक कदम चाल्न लागेको बताए। क्यानडाले लगाउने नयाँ करका विस्तृत विवरण आगामी दिनमा सार्वजनिक गरिने उनले जानकारी दिए।

यसमा तपाईको प्रतिक्रिया