शुक्रबार, फागुन ०२, २०८१

प्रधानमन्त्रीले विश्वासको मत नपाए नेपाली कांग्रेसले अल्पमतको सरकार बनाउने खतरा छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने भन्दै पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले ह्वीपकै रुपमा आफ्नो निर्देशन मानेर सबै सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिए देश ठूलो दुर्घटनामा जाने समेत जिकिर गरे । प्रधानमन्त्रीले विश्वासको मत नपाए नेपाली कांग्रेसले अल्पमतको सरकार बनाउने खतरा रहेको भन्दै उनले सबैलाई विश्वासको मत दिन ह्वीप लगाए ।

नयाँ सत्ता समीकरण सकारात्मक भएको बताएका ओलीले एमालेको लागि समीकरण सबैभन्दा राम्रो विकल्प हो कि होइन भन्नेतर्फ अहिले नगई जसरी पनि दाहाललाई विश्वासको मत प्राप्त गर्न सफल बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘एमालेका लागि यो बेस्ट अप्सन हो कि होइन भन्ने कुरा छोडिदिउँ, यतिबेला अर्को कुनै विकल्प छैन । कि प्रचण्डको नेतृत्वमा बनेको समीकरणले जित्छ । नत्र संविधानको धारा ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसको भोलि अल्पमतको सरकार बन्छ । दुईवटा मध्ये एउटा कुरा हुन्छ ।’ उनले कांग्रेसको सरकार बने देश दुर्घटनामा जाने र त्यसो हुनबाट रोक्नुपर्ने बताए ।