बिहिबार, बैशाख १३, २०८१

जापानका चार शहरमा गलकोट समाजको ‘सॉंगीतिक धमाका-२०२३’ उत्साहपूर्ण सम्पन्न

जापान । अंग्रेजी नयाँवर्षको स्वागतसँगै गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ जापानका मुख्य चार शहरमा आयोजना गरिएको ‘सॉंगीतिक धमाका-२०२३’ मा देखिएको उत्साहपूर्ण सम्पन्न भएको छ।

बागलुङको गलकोट क्षेत्रबाट जापानमा आई विभिन्न पेशा व्यवसाय अध्ययन लगायतका क्षेत्रमा क्रियाशिल रहेका गलकोटे नेपालीहरूको जापानमा बाक्लो उपस्थिति रहेको र तिनै गलकोटेहरूद्वारा सन् २००६ मा स्थापित संस्था गलकोट समाज जापानले सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप गर्न आर्थिक संकलनका लागि गरिने कार्यक्रमका शिलाशिलामा यस वर्ष गरिएको ‘सॉंगीतिक धमाका-२०२३’मा जापानबासी नेपाली समुदायको उपस्थिति र सागभागिता उत्साहपूर्ण रहेको थियो ।

जापानको फुकुओका, ओसाका, नागोया र टोकियोका व्यावसायिक हलहरूमा ठेलमठेल दर्शकबीच नेपालबाट आमन्त्रित कलाकार प्रकाश सपुत, रचना रिमाल, श्रीकृष्ण बम मल्ल र इश्वर सिंहले आफ्नो गायकीको जादु चलाए ।
‘सॉंगीतिक धमाका-२०२३’मा निस्केको गलकोट समाज जापानले गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ ‘सांगीतिक कार्यक्रम’ समर्पित गरेको थियो ।

विगतमा पनि आफू जन्मेको माटोप्रति विभिन्न सामाजिक सेवाका कार्य गर्नका लागि यस्ता कार्यक्रम गर्दै आएको गलकोट समाज जापानले यस वर्ष अन्य वर्षभन्दा व्यवस्थित र योजनवद्द रूपमा फुकुओकामा पनि सफलतापूर्वक कार्यक्रम गरि गलकोटेसहित नेपाली मनहरुलाई जोड्दै भातृत्वको भावना विकास गराएर उदेश्य बमोजिमको कार्यमा हातमा हात मिलाउन सफल रहेको समाजकी अध्यक्ष कालिका थापाले बताइन् ।
गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ जापानमा रहेका गलकोटेसहित नेपाली दाजुभाइ दिदिबहिनीलाई समाजद्वारा आयोजित सांगीतिक कार्यक्रममार्फत जोड्न पाएकोमा अध्यक्ष थापाले खुशी व्यक्त गरिन ।
जन्मभूमिमा गुणस्तरीय र छिटो छारितो स्वास्थ्य सेवा प्राप्त गराउने अभियानमा जापानबासी नेपाली सबैले हातेमालो गरिदिनु भएकोमा उदेश्यलाई परिपूर्ति गर्न सहज भएको भाएको उनले बताइन् ।

“त्यस्तो सुन्दर ठाउँ गलकोटमा जन्मन पाएकामा आमा तिम्रो कोखलाई धन्यवाद’ भन्दै कार्यक्रम संयोजक तथा गलकोट समाज जापानका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले हरेकले नेपाली मनलाई आफू जन्मेकों माटोंप्रति कति माया र केहि गरौ गरौ भन्ने हुटहुटी हुदो रहेछ भन्ने प्रत्यक्ष साक्षी यस वर्ष गरिएको सांगीतिक धमकामार्फत देख्न पाएको बताए ।
जन्मभूमिमा सामाजिक सेवाका कार्य गर्न जापानमा रहेका विशेषतः गलकोटे मनलाई जोड्ने सेतुको कार्य गलकोट समाज जापानले गरेको र उक्त कार्यमा गलकोटेसहित जापानवासी नेपालीको उत्साहपूर्ण आर्थिक भौतिक र नैतिक साथ र सहयोग रहेको बस्नेतले बताए ।

सोह्र वर्षअघि जन्मेको गलकोट समाज जापानले जन्मभूमि गलकोट सहित देशव्यापी गरेका मानवीय सहयोग तथा सामाजिक सेवामा गरेका कार्यले प्रसिद्धि कमाएको हो । समाजले यसपालि डिसेम्बर २७मा जापानको फुकुओकाबाट गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सह कोषाध्यक्ष टैंक गैरेद्वारा उद्घाटन गरेर सुरुवात गरिएको साँगीतिक धमाका अन्तर्गत सांगीतिक प्रस्तुति डिसेम्बर ३१ ओसाकामा कार्यक्रमका इभेण्ट पार्टनर प्रभु बैंकका वरिष्ठ प्रबन्धक चन्द्रबहादुर खत्रीले, जनवरी १ नागोयामा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष गोविन्द श्रेष्ठ रोविन्द र जनवरी २ टोकियोमा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले समापन गरेका थिए ।

गलकोटमा स्वाथ्य क्षेत्रमा सहयोग जुटाउने उद्देश्यले कार्यक्रम राखिएको महासचिब लक्ष्मण कार्कीले बताए । गलकोटमा स्वास्थ्य सामग्री दिनका लागि ठुलो रकम लाग्ने र सो बजेट व्यवस्थापनका लागि प्रभु बैंकसँगको सहकार्य र कलाकारहरूसहितको साङ्गीतिक अभियानको जुक्ति निकालेऔ, त्यसकै लागि आर्थिक संकलन अभियान नै संचालन गरेर र टिकट किनेर सयौँ दर्शकहरू साँगीतिक प्रस्तुति हेर्न पुगेको कार्कीले बताए ।
पवित्र र गलकोट क्षेत्रको आवश्यकतामा आधारित सहयोगार्थका निम्ति गरिएको कार्यक्रममा मुख्य प्रायोजक अर्थात् इभेण्ट पार्टनरको रुपमा नेपालको प्रमुख बैक अन्तरगतको प्रभु बैंक, जापानमा क्रियाशील संघ संस्था, व्यवसायी एवम् व्यक्तिहरूले सहयोगका विभिन्न तहमा रहेर उत्साहपूर्वक आर्थिक सहयोग गरेको समाजका कोषाध्यक्ष तथा आर्थिक संयोजक दिलबहादुर थापा रामुले बताए ।
गलकोट समाज जापानले विगतदेखि नै परोपकारी र पुण्य काम गर्दै आइरहेकोले हरेक नेपाली दाजुभाइ दिदिबहिनीले सहयोग र सहकार्य गर्न जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आग्रह गरे ।

यस वर्षको सांगीतिक धमाकाको इभेन्ट पार्टनर समेत रहेको प्रभु बैंकका वरिष्ठ प्रबन्धक खत्रीले सामाजिक उत्तरदायित्वका हरेक कार्यमा बैंकले समाजसंग सहकार्य गर्दै जाने बताए । उनले व्यक्तिको आर्थिक समृद्धिका लागि बैंकिंग कारोवारलाई अनिवार्यता गराउन सबैलाई आग्रह गरे ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष गोविन्द श्रेष्ठले गलकोटको हरेक क्षेत्रमा सहयोग पुर्याउन आफू तयार रहेको र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन पनि लागि पर्ने बताए । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सह कोषाध्यक्ष गैरेले सामाजिक सेवामा गलकोट समाज जापानको योगदान सराहनीय रहेको बताए ।

गलकोट क्षेत्रका आम नागरिकको स्वास्थ्य क्षेत्रबाट छिटो र छरितो रुपमा सेवा र सुविधा प्रदान गर्नका लागि टेवा पुगी तत्काल उपचारको अभावमा हुने मूत्युदरलाई न्यूनीकरणमा योगदान पुर्याउने, गलकोट क्षेत्रको पर्यटन प्रवर्तन विकासका लागि र नेपाली मौलिक संस्कृतिको प्रचार प्रसार भै जापान र नेपालको संस्कृति आदान प्रदानमा सहयोग पुर्याउने मुख्य उदेश्यका साथ सांगीतिक धमाका कार्यक्रम गरिएको र सो कार्यक्रम सोचे अनुरूप सफल रहेको समाजका सल्लाहकार भवानी पन्तले बताए ।

औपचारिक कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष कालिका थापा, संचालन महासचिव लक्ष्मण कार्की र लेखा तथा अनुशासन आयोग संयोजक खगराज गौतम, स्वागत फुकुओकामा सल्लाहकार विपिन कंडेल, ओसाकामा क्षेत्रीय अध्यक्ष रामु साहनी, नागोयामा उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, टोकियोमा क्षेत्रीय समितिका उपाध्यक्ष दुर्गाबहादुर खत्रीले गरेका थिए भने संस्थाको बारेमा जानकारी र कार्यक्रमको औचित्यको बारेमा कार्यक्रम संयोजक बस्नेत, सल्लाहकार पन्त, समाजका प्रवक्ता दिलिप कंडेल, उपाध्यक्ष शिबु थापाले जानकारी गराएका थिए ।

त्यसैगरि सांगीतिक कार्यक्रमको संचालन फुकुओकामा खगराज गौतम, ओसाकामा कुलबिर थापा र गौतम, नागोयामा मनोज केसी र गौतम, टोकियोमा गौतम र दिनेश थापाले गरेका थिए ।