जापान । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर अनेसास जापानले एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा जनवरी ३ तारिख मङ्गलवारको दिन दिउँसो १ बजेबाट आरम्भ हुने उक्त कार्यक्रम सम्पन्न गर्न अनेसास जापान कार्यसमितिले विविध तायरी थालेको छ।
शुभारम्भ साहित्य नामबाट सम्पन्न हुन थालेको उक्त समारोहमा जापानलाई कर्मथलो बनाएर सिर्जना कर्म गरिरहनुभएका मञ्जुल मितेरीको कविता संग्रह ‘कामी’, के बी पारखीको मुक्तक संग्रह ‘मनको मन्दिर’ र मञ्जु गिरीको कविता संग्रह ‘साकुराको देशबाट’ को कर्मभूमि विमोचन हुँदैछ ।
कार्यक्रममा जापानमा बसेर मुक्तक सिर्जना गरिरहनुभएका मुक्तककारहरूको विशेष मुक्तक वाचन ‘मुक्तक मञ्जरी ‘ रहनेछ। त्यसैगरी नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्दै उपस्थित साहित्यिक व्यक्तित्वहरूबाट खुला रचना वाचन पनि रहने गरी समय तालिका निर्धारण गरिएको छ।
पछिल्ला समयमा फरक एवम् नयाँ तरिकाले कार्यक्रम गर्दै आइरहेको अनेसास जापानले यस् कार्यक्रमलाई पनि विशेष बनाउँदै सम्पन्न गर्न जापानमा रहने सम्पूर्ण संघ संस्था तथा साहित्य प्रेमी नेपालीहरूमा सहभागिताको लागि अनेसास जापानका अध्यक्ष रविन शर्माले सम्पूर्णमा अपिल गरेका छन्।

