सोमबार, भदौ ३१, २०८१

लमजुङ्ग समाज जापानको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

टोकियो : नेपाली नयाँ वर्ष २०७४ को अवसरमा लमजुङ्ग समाज जापानको आयोजनामा ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ । समाजका अध्यक्ष ऋतुकुमार दुराको सभापतित्वमा सम्पन्न कार्यक्रममा जापानको टोकियो क्षेत्रमा रहेका लमजुङेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले आ–आफ्नो परिचयसहित एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा हालै मात्र सम्पन्न पत्रकार महासंघ जापानको तेस्रो अधिवेशनबाट सचिव पदमा निर्विरोध चयन भएका संस्थाको अध्यक्ष ऋतुकुमार दुरालाई खादा लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो । त्यसैगरी केही समय अगाडि नेपाकेनद्वारा आयोजित वक्तत्वकला प्रतियोगितामा द्वीतिय स्थान हासिल गर्न सफल होमवहादुर तामाङलाई पनि सम्मान गरेको थियो । अन्य विधामा सदस्य अन्जु गुरुङ, दिनेश गुरुङ लगायत हालैका दिनमा टोकियो क्षेत्रमा भएको फूटवल प्रतियोगिताहरुमा समाजको तर्फबाट सहभागी भएका लमजुङ एफसीका खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा एनआरएनए जापानका संस्थापक अध्यक्ष तथा समाजसेवी राजन प्रधानाङ्ग, घलेसमाज जापानका उपाध्यक्ष तथा व्यवसायी मनोज घले लगायतको उपस्थिति रहेको थियो । समाजकाे उपाध्यक्ष गुनीमाया गुरुङकाे स्वागत मन्तब्य रहेकाे कार्यक्रमकाे संचालन सह‍-सचिव साेम गुरुङकाे रहेकाे थियाे ।