टोकियो : नेपालमा जापानिज पर्यटन बढाउन जापान भर ‘अतिथि देवो भव र्याली आईतबार जापानका मुख्य शहरहरूमा भव्य रूपमा सम्पन्न भएको छ ।
राजधानी टोकियो सहित नागोया, ओशाका, फुकुओका, निगाता, ओकिनावा, गुम्वा, तोचिगी लगायतका मुख्य १२ शहरहरूमा एकै पटक आयोजना गरिएको र्यालीमा नेपालीहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।
अंग्रेजी र जापानी भाषामा नेपालका पर्यटकिय क्षेत्र सहित सगरमाथा र लुम्बिनीको विशेष प्रचार सामाग्रीमा जापानीहरूले निक्कै चासो दिएका थिए ।
टोकियो योयोगी पार्कबाट सुरू भएको र्याली सिवुया, सिनुजुकु, ईकेवुकुरो लगायतका मुख्य शहर हुदै खानागावा राज्यको योकोहामामा पुगेर समापन भएको थियो। टोकियोमा आयोजित र्यालीमा करिव ५० बढी निजी सवारीहरूमा नेपाली ढाका टोपीमा सजिएका नेपालीहरूले सवारीमा प्रचार सामाग्री राखेर “नमस्ते… अतिथि देवो भव:” भन्दै नगर परिक्रमा गरेका थिए।
समारोहको उदघाटन गर्दै जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले विदेशमा रहेका नेपाली स्वयमको प्रयासले नेपालमा पर्यटन बढाउन सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रम निरन्तरता गर्न जापानवासी नेपालीहरूलाई आग्रह गर्नुभएको थियो ।