सोमबार, भदौ २४, २०८१

सुन्तली र धुर्मुसले फेरिदिए मुसहर वस्तीको मुहार

बर्दिवास,२ वैशाख ।  तीन महिनाअघि सुन्तली र धुर्मुस मुसहर वस्ती पुग्दा फुसको अगाडिको चौरमा उदास मुद्रामा बसेकी थिइन् १०८ वर्षीया मरानी सदाय । नयाँ वर्ष आरम्भ हुनुभन्दा एकदिन अघि भने उनी सुन्तली र धुर्मुसले बनाइदिएको घरको बार्दलीमा हर्षित मुद्रामा थिइन्, दायाँ बायाँ थिए सुन्तली र धुर्मुस् । आफ्नो जीवनकालमा यस्तो घरमा बस्ने कहिल्यै सपना नदेखेकी मरानीको विपनामै सुन्दर घर मात्र होइन नमुना वस्ती नै अगाडि थियो ।

शुक्रवार बिहानै वस्ती हस्तान्तरण समारोह सुरु भयो । वस्तीमा आएका आगन्तुकहरु सेल्फी लिंदै उल्लास बाँडिरहेका थिए । उस्तै आकार, बान्की र रंगका ५३ वटा घर छन् । प्रत्येक घरसँगै धारा,  शौचालय, बगैंचा र बार्दली छ । घरको दायाँ बायाँ बाटो छ । बालबालिका खेल्ने बगैंचा छ, मन्दिर र चौतारो छ । अनि समुदायको भेला भएर सल्लाह गर्ने सामुदायिक भवन पनि छ ।

सपनामा नचिताएको सुन्दर बस्ती धुर्मुस सुन्तली फाउण्डेशनले तीन महिनामा तयार गरेपछि यसैगरी वर्दिवासका मुसहरको जीवन एउटा सुखद् सपनामय विपनामा रुपान्तरित भएको छ ।

यिनीहरुका नाममा चलेको राजनीतिले कतिलाई मन्त्री र सांसद बनायो । यिनीहरुले दिएको भोटले कति नेताले आफ्ना श्रीमतीहरुलाई सांसद र मन्त्री बनाए । अहिले पनि यिनीहरुलाई नारामा बेच्दै आफ्नो दुनो सोझ्याउने राजनीतिको विद्रुप दृश्य देशैभर प्रदर्शन भइरहेको छ । यिनीहरुको जीवनमा जहिलेसुकै गरिवी र उत्पीडन मात्रै थियो । यिनीहरुकै अधिकारका नाममा देशले नाकाबन्दी समेत भोग्यो । अहिले पनि मधेसलाई टेकेर सिंगै देशलाई पराईको खेलौना बनाउने उपक्रम रोकिएको छैन । तराई मधेसका नागरिकको वास्तविक समस्या के हो र वास्तविक खुसी के हो धुर्मुस् सुन्तलीले बनाएको नमुना वस्तीले राम्रोसँग उजागर गरेको छ ।