शुक्रबार, असार १२, २०८३

एनआरएनए एसिया क्षेत्रीय प्यासिफिक सम्मेलन : ३ सय प्रतिनिधि सहभागी हुने

जापान । एनआरएनए एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले सम्वोधन गर्ने भएका छन्। मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ नारासहित आयोजना हुने सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएको छ।

अगस्ट २६ देखि २८ सम्म बैंककको मिलिनियम हिल्टन होटलमा हुने सम्मेलनलाई श्रममन्त्री शेरबहादुर कुँवर, नेकपा एमाले सांसद तथा नेता डा.सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतानलगायतले सम्बोधन गर्ने एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जानकारी दिए।

सम्मेलनमा चीन, म्यानमार, थाइल्याण्ड र मलेसियाका लागि नेपाली राजदूतहरु, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु, पूर्वअध्यक्ष, नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुनेछ।

संघका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा भाग लिन जानेहरुले छिटो भन्दा छिटो होटल बुकिङ गर्न आग्रह गरेका छन्। नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थल लुम्बिनीमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले थाइल्याण्डका पर्यटन मन्त्रीलाई नै कार्यक्रममा सहभागी गराउने तयारी रहेको बस्नेतले जानकारी दिए।
५० जनाभन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली संघका मुख्य मुद्दाहरु नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला र युवाहरुका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रीत हुने गैरआवासीय नेपाली संघले जनाएको छ।
सम्मेलनमा नेपालका चर्चित कलाकारहरुले समेत आ-आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।