जापान । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तिज धमाका २०२२’ आयोजना गर्ने भएको छ।
तिजको अवसरमा कान्तो क्षेत्रीय समितीले आफ़नो स्थापना कालदेखि नै निरन्तर कार्यक्रम अन्तरगत यस वर्ष सो कार्यक्रम गर्न लागिएको अध्यक्ष राजु बस्नेतले जानकारी गराए। नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा टोकियोमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अध्यक्ष बस्नेतले अनुरोध समेत गरेका छन ।
विगत देखि कार्यक्रम गर्दै आइरहेको कान्तो क्षेत्रीय समितिले कोभिड -१९ को महामारीका कारण २०१९ यता कार्यक्रमलाई निरन्तरता दिन नसके पनि यस पटक भने कार्यक्रमको लागि आवश्यक तयारी थालिएको उनले बताए ।
कार्यक्रमलाई भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित कलाकारको भिषा प्रकृया अन्तिम अवस्थामा रहेको र कार्यक्रम अगस्ट ३० तारिक नाकानो जिरो हलमा हुने जानकारी सचिव दिपक सुवेदीले गराए। कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउनको साथै कोरोना महामारीको अपनाउनु पर्ने सम्पूर्ण सावधानीप्रति आफूहरू सचेत रहेको र स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गरिने सचिव सुवेदीले बताए।
विगतका क्रार्यक्रमहरुमा हलको क्षमताभन्दा बढि दर्शकको उपस्थिति रहेको स्मरण गर्दै यसपटक भने हामीलाई आवश्यकता भन्दा निकै बढि सिट क्षमता भएको हलको व्यवस्थापन गरि टोकियोबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले यसपटक पनि कार्यक्रमलाई भव्य रुपमा सफल हुनेमा कान्तो समिति पूर्ण रूपमा विस्वस्त रहेको संस्थाका उपाध्यक्ष दिनेश थापाले जानकारी गराए।

