जापान । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भईरहेको बताउनु भएको छ।
शनिवार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल २०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने बताउदै गैरआवासीय नेपालीलाई नागरिकता र अब भोटको ब्यवस्था गर्ने बारे बहस भईरहेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा दाहालले नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्याएको सहयोगप्रति जापान सरकारलाई विशेष धन्यवाद दिनुभयो । दातृ देशका रुपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल-जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।
नेपाल-जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्नो भ्रमण केन्द्रित रहने उनले विश्वास व्यक्त गरे। जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग आफ्नो विशेष सम्बन्ध र मित्रता रहेको अध्यक्ष दाहालले स्मरण गरे।
आगामी संघीय र प्रदेशसभाको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन हुने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने बताए।
प्रवासी नेपाली मंच जापानको निमन्त्रणमा पाँच दिने जापान भ्रमणका क्रममा अध्यक्ष दाहाल आजै नेपाल एयरलाईन्सको विमानबाट जापान पुगेका हुन्।

