शुक्रबार, फागुन ०२, २०८१

शहिद गोविन्द गौतम परिवारलाई जापानबाट आर्थिक सहयोग

टोकियो । नेपाल भारत सिमा लडाईका क्रममा कञ्चनपुरमा भारतीय फौजको गोली प्रहारबाट शहीद हुनुभएका गोविन्द गौतम परिवारको लागि जापानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

शहीद गोविन्द गौतम परिवार सहयोग संकलन अभियानले शहिद गोविन्द गौतम परिवारको लागि ७० हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको हो ।

टपनेपालन्युजडटकमले १० हजार जापानी येनको कोष खडा गरी थालेको शहीद गोविन्द गौतम परिवार सहयोग संकलन अभियानका क्रममा ७३९७७ येन संकलन भएको र यसलाई नेपाल पठाउँदा ७० हजार ५ सय ५० रुपैयाँ हुन आएको हो ।

देशको माटो रक्षा गर्न ज्यान आहुती दिएका बिर शहीद प्रतिको सम्मान स्वरुप प्राप्त सहयोग रकम आज एक कार्यक्रमका बिच शहीद परिवारलाई  नेपाल पठाइएको छ ।

सहयोग रकम जापानका सफल युवा व्यवसायी भुवन अधिकारीको रोहवर तथा सञ्चारकर्मी तथा कलाकार ज्याक खड्काको उपस्थितिमा टपनेपालन्युजडटकमका कार्यकारी सम्पादक गोकर्ण अधिकारीले नेपाल पठाउनुभएको हो ।

टपनेपालन्युजडटकमका कञ्चनपुर प्रतिनिधि पप्पु गुरुगंको नाममा पठाइएको रकम भोली शहिद गौविन्द गौतमको परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

सो अवसरमा शहीद गोविन्द गौतम परिवार सहयोग अभियान, जापानले शहीद परिवारको लागि सहयोग तथा हौसला प्रदान गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दै देशप्रति परदेशमा रहेर गरेको योगदान र भूमिकाको लागि आभार व्यक्त गरेको छ ।