शुक्रबार, बैशाख १४, २०८१

शान्ति कायम गर्न बुद्धको दर्शन महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र संसारभर शान्ति कायम गर्न बुद्ध धर्म र दर्शनको भुमिका महत्वपूर्ण रहने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देशका विभिन्न गुम्बावाट आएका बौद्ध लामा गुरुहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले साे कुरा बताएका हुन् । साे अवसरमा प्रधानमन्त्रीले नेपाल धर्मनिरपेक्ष राज्य भएको स्पष्ट पार्दै सबै धर्म, संस्कृति र आस्थाप्रति राज्यको सम्मान रहने बताए ।

उनले नेपालमा जन्मिएका गौतम बुद्धले विकास गरेको बुद्ध दर्शन अहिले बिश्वभर फैलिएको बताउँदै शान्ति, सदभाव र भाइचारा सम्बन्ध प्रवद्र्धन गर्न यसको धेरै ठूलो योगदान पुर्याएकाे बताए ।

प्रधानमन्त्रीले धार्मिक पर्यटनका माध्यमवाट देशको सम्वृद्धिमा योगदान दिन सकिने विश्वास व्यक्त गर्दै बुद्ध दर्शनको विस्तार र विकासका पक्षमा आफूले सक्दो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

साे भेटमा बौद्ध दर्शन प्रबन्ध तथा गुम्बा विकास समितिका पदाधिकारी, विभिन्न गुम्बाका २७ जना बौद्ध लामा गुरुहरुको सहभागिता रहेकाे थियो । सो क्रममा गुम्बा विकास समितिले देशका गुम्बाहरुको पुर्ननिर्माण र मर्मतका लागि प्रधानमन्त्रीसँग बजेटको माग गरेको थियो । प्रधानमन्त्रीले सरकारका तर्फवाट आवश्यक बजेटको व्यवस्था गरिने बताएका थिए ।