जापान : बाग्लुङ समाज जापानले अप्रिल ४ तारिखका दिन टोकियोमा दोश्रो रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबललाई चैते दसैंको अवसरमा खेलकूदमार्फत प्रवाशमा रहेका खेलाडीहरुको विकासमा टेवा पुर्याउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
भलिबल प्रतियोगिता संचालन गर्नका लागि समाजले विभिन्न उप-समिति गठन गरी जिम्मेवारी बाडफाडका साथ प्रतियोगिताको तयारी थालेको समाजका कार्यवहाक अध्यक्ष यमकान्त कँडेलले बताए ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्दै समाजको उद्देश्य परिपूर्तिका लागि समग्र प्रतियोगिताको संयोजन गर्ने गरि कार्यक्रम संयोजक कार्यसमिती सदस्य बसन्त थापा, कार्यक्रमको ब्यवस्थापकिय जिम्मेवारी उपाध्यक्ष गुरु प्रसाद सापकोटालाई प्रदान गरिएको आर्थिक,प्रचार प्रसार स्वयम्सेवक तथा अतिथि व्यवस्थापन लगायतका जिम्मेवारी समेत बाडफाड गरि प्रतियोगिताको आवश्यक तयारी गरिएको महासचिब राजु केसीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद १ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुवै समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र प्रदान गरिने बताईएको छ । यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पिकेर, बेष्ट डिफेण्डेर, बेष्ट लिफ़्टर र बेष्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने बताईएको छ ।
प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल टोकियोको सिन्जुकु कज्मिक सेन्टर(Shinjuku Cosmic Center) मा बिहान ९ बजे देखि खेल संचालन हुने र सहभागिताको लागि प्रवेश शुल्क प्रति समूह ४० हजार येन निर्धारण गरिएको छ।

