प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टी निर्णयका साथ एक महिना पहिल्यै घोषणा गरेको मेची महाकाली राष्ट्रिय अभियान फागुन २१ गते काकडभिट्टाबाट शुरुवात गर्यो। झापा आन्दोलनका सहिदहरुको स्मरणमा फागुन २१ गते पारेर शुरुवात गरिएको त्यो राष्ट्रिय अभियान आफँैमा चर्चाको शिखरमा थियो । समग्र राष्ट्रको ध्यान अभियानले खिचेको थियो । दशौ हजारको संख्यामा उपस्थित कार्यकर्ता र सर्वसाधारणको सहभागितामा पार्टी अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गर्नुभयो । अनि पार्टीका महासचिव ईश्वर पोखरेलले अभियानको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
हजारौको संख्यामा रहेका मोटर गाडी, मोटर साइकलहरुमा सजाएका पार्टीका झण्डा, सुर्य झण्डा, राष्ट्रिय झण्डाले मुलतः झापा धपक्कै बलेको थियो । मानौ, यहाँ ठूलो बिजय उत्सव छ, मानिसहरु जित्दैछन् । जितको खुसियालीमा मानिसहरु जुर्मुराइरहेका छन् । हर्ष उल्लाहस छ । सबै कार्यकर्ता एवं सर्वसाधारण पार्टी अध्यक्ष ओलीसँग बसेर फोटो खिच्न रुचाँउथे । केन्द्रिय नेताहरु समेत ओलीको छेउमा बसेर फोटो खिच्न नपाएकोमा, मञ्चमा उक्लन नपाएकोमा, आफ्नो पदिय हैसियत अनुसार व्यबहार नभएकोप्रति सचेत थिए । केही नेताहरु भने निर्धक्क कार्यक्रको बीचमा रमाइरहेका देखिन्थे ।
त्यसपछि अभियान काकडभिट्टाबाट व्यबस्थित र्यालीका रुपमा अगाडि बढ्यो बिर्तामोडतर्फ । बीच बाटोमा पार्टी झण्डा र सूर्य झण्डा फहराउँदै कार्यकर्ताले अभियानको स्वागत गरेका थिए । एमालेका पक्षमा नाराहरु लगाइएका थिए । वास्तवमा अभियानले यती धेरै किन चर्चा पायो यो ? अभियानबाट धेरै तर्सेको देखियो मधेशी मोर्चा । मोर्चाका स्थानिय कमिटी, नेताहरु नेकपा एमालेका अध्यक्ष ओलीमाथि निशाना लगाइरहेका थिए । ओलीले उनीहरुको वर्चस्व खोस्दै छन् । जनतालाई सत्य कुरा भन्दैछन् । मधेसमा रोपिएको विषवृक्ष उखेल्दैछन् । जनता बिउझाउदै छन्, जनतामा जागृति ल्याउदैछन् । यसकारण उनीहरु बढी आतंकित देखिए र ओलीले उठाएको राष्ट्रबादी आन्दोलनको झण्डाले, राष्ट्रिय स्वाभिमानको झण्डाले हामीलाई पछार्ने छ । मधेशी मोर्चालाई यही लागेको हुनुपर्छ । त्यसकारण नेकपा एमालेको यो राष्ट्रिय अभियानको विपक्षमा देखियो मोर्चा ।
सात दशक लामो बलिदानी संघर्ष र दुई–दुई वटा संविधान सभाको लामो र कठोर प्रयत्नपछि बनेको नेपालको संविधानको कार्यान्वयन, रक्षा र विकास गर्नुपर्ने ऐतिहासिक दायित्व नेकपा एमालेको काँधमा थियो र छ । अर्थात्, संबिधानको बिरुवा कलिलै थियो । जनताले संबिधान प्राप्त गरेको ऐतिहासिक उपलब्धिहरु संस्थागत भएको र संबिधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकको राजनीतिक स्थायित्व, दिगो शान्ति, सुदृढ लोकतन्त्र र आर्थिक समृद्धिका दिशातर्फ अगाडि बढ्नुपर्ने थियो । यसमा खुसी थिएन मधेशी मोर्चा । मधेसी मोर्चा मुलुकलाई अस्थिरतामा फँसाउन धमिलो पानीमा माछा मार्न सल्बलाई रहेको थियो । स्पष्ट थियो, संविधान बिरोधीको आवेग, प्रतिशोध र संकिर्ण स्वार्थले मुलुकलाई झनै अस्थिरता तर्फलाने दाउमा थिए । राजबिराज घटना यसैको एउटा सहउत्पादन बन्न पुग्यो ।
जव राष्ट्रिय अभियान विर्तामोड, दमक, उर्लाबारी, बिराटचोक, इटहरी र इनरुवा हुँदै २३ गते सप्तरीको भारदह भएर राजबिराजको गजेन्द्रनारायण सिंह औधोगिक केन्द्रतर्फ लाग्यो, भारदहदेखि मधेशी मोर्चाका केही दर्जन कार्यकर्ता कालो झण्डा देखाउदै अभियानको बिपक्षमा नाराबाजी गर्दै ढुङगाा हान्दै थिए । दशौ हजार कार्यकर्ता, सर्मथक र शुभचिन्तकहरुको उर्लदो उपस्थिति मोर्चाका लागि अकल्पनिय उपस्थिति देखिन्थ्यो ।
वास्तवमा अपराधीहरुको कुनै विचार, धारणा, जात, वर्ण वा पार्टी नहुने र तिनीहरु अपराधी नै हुने हुनाले व्यक्ति वा समुह विशेषले गरेको अपराध कर्महरुको बारेमा चर्चा समेत नगर्ने मान्यता नै बनिसकेको देखिन्थ्यो । कुनै पनि जातजाती, भाषाभाषी, धर्म, संस्कृति वा आस्था, राजनितिक दल या समुह विशेषको प्रतिष्ठामा आँच आउने जस्ता कुनै पनि गल्ति नगर्ने चेतका साथ अभियान अगाडि बढेको थियो । कुनै आक्रोश, उत्तेजना थिएन अभियानकर्ताहरुमा । संबिधानप्रदत्त अधिकारको सीमा भित्र रहेर अभियानकर्ताहरु साह्रै शान्त, शिष्ट थिए । उनीहरुको लक्ष्य थियो राजबिराजको जनसभा ।
एक्कासी मधेसी मोर्चाको कार्यकताहरु हातमा ढुङ्गामुढा, भाला बोकेर कालो झण्डा देखाउँदै अभियानको र्यालीलाई ताकिताकि हान्दै थिए । प्रहरी रोकिरहेको देखिन्थ्यो । औधोगिक क्षेत्रभित्र दशांै हजार समुदायको उपस्थिति–जनसभा शुरु भयो । सञ्चालकले पार्टीका जिल्ला सचिव शम्भु यादब, उपसचिव प्रतापनारायण चौधरीमाथि मधेसी मोर्चाका कार्यकर्ताले निर्घात कुटपिट गरेको र गम्भीर घाइते बनाएको तथ्य राख्दै उहाँहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सम्मान गराएका थिए ।
कार्यक्रममा पार्टी अध्यक्ष ओली, बरिष्ठ नेता माधब नेपाल, नेताहरु सत्यनारायण मण्डल र लालबाबु यादबले सम्बोधन गरिसकेपछि एक्कासी राजबिराज बजारबाट आएको मोर्चाका कार्यकर्ताको भीडले औधोगिक क्षेत्र घेर्दै प्रहरीलाई ताकीताकी पट्रोल बम हान्दै आक्रमण ग¥यो । प्रहरीले मुलगेट बन्द गर्यो । आन्दोलनकारीका नाममा जनसभा भाड्न आएको आपराधिक जत्थालाई केही पछाडि लखेट्यो । सर्वसाधारणलाई बिस्तारै बाहिर पठायो । त्यसपछि कार्यकर्ता र नेताहरुको टीमलाई सकुसल अगाडि लग्यो । त्यसैबेला आमसभामा लाठी, खुकुरी र पेट्रोल बम बोकेर आएका अपराधीहरुले आमसभा भाड्न नपाएको, नेता र कार्यकर्तालाई हान्न नपाएको झोंकमा प्रहरीमाथि जाईलागेको प्रष्टै दखियो र दाहोरो भिडन्त भयो । अवस्था कस्तो थियो भने एमाले गर्दन थाप, मोर्चाले हान्छ भन्ने जस्ता नाराबाजी गरियो । संबिधानले शान्तिपुर्वक भेला गर्ने, सभा सम्मेलन गर्न पाउने हक हरेक नागरिकलाई दिएको छ तर त्यो कुरा मोर्चालाई मान्य छैन् । मानौ मधेसमा राज्य नै मोर्चा हो, कानुन नै मोर्चा हो ।
मोर्चाको हठ, उदण्डता, अराजनीतिक गतिबिधिले निहत्था जनतालाई मार्यो । कथित शहिदहरुको लामबन्दी लगायो । राज्यसँग पैसा लुट्यो । जनताको जीवनमाथि खेलवाड गर्ने, जीवनको मूल्य तोक्दै, राज्यसँग असुल्दै, अन्तहिन र उद्देश्यहिन यात्रामा अल्मलिएको यात्री झै मधेशी मोर्चा मुलुकमा अस्थिरता, अराजकता सिर्जना गदैछ ।