बुधबार, असार ०३, २०८३

संसद्

जहाँ तरवारहरू बज्छन् ।
घाँटीहरू छिन्छन् ।

भाँचिएका कुर्सी मुनी छरपस्ट दापहरू छन् ।
म्यानहरू छन् ।
गोलीका खोकाहरू छन् ।
रगतमा डुबेका काला जुत्ताका छापहरू छन् ।

घोडाका टापहरू बज्छन्, गिडगिडाउछन्,
गोलीले छेडेको रोष्टमबाट
खुनले लेखेका चिठ्ठीहरू पढिन्छन् ।

संसद, एक कुरुक्षेत्र हो ।
तनक्क तन्केका बाणका आवाजहरू सुनिन्छन् ।

भेटिन्छन् संसदमै
टोल टोलमा कटारी देखाउनेहरू
सीमानामा अफिम र आफ्नै चेली बेच्नेहरू
मध्यरातमा खोला उत्खन्नेहरू

संसदमै भेटिन्छन्
सडकमा नारा लगाउदा लगाउदै हराएकाहरू ।
मन्दिरबाट मूर्ती उठाउदा उठाउदै समातिएकाहरू ।
नाङ्गै भागेकाहरू र कैदिहरू ।

आधुनिक महफिल हो संसद
जहाँ सुगाहरू गीत गाउँछन्, लय हाल्छन् ।
कविता भन्छन् ।

ठट्टा, टुक्का र सायरीहरू सुनाउछन् ।
गरुडको छाँयामुनी सर्पहरू मुजुरा नाँच्छन् ।

हजार वर्ष लामो
निरोले फुकिरहेको बासुरीको धुनमा निदाउछन् ।

संसद एउटा बजार हो,
टाउकाहरूको बजार ।

किन्ने र बेचिन तयारहरूको बजार
सके थोकमा
नसके फुटकरमा
फुटपाथमै मूल्य घटाउने र बढाउनेहरूको बजार ।
यो अंक गणितको हिसाव
कहिल्यै मिलाउन नसक्नेहरूको बजार ।

यो बजार
तस्करहरुको ट्रान्जिट पोइन्ट हो ।

गढिमाईको मेलामा
हजार सपनाहरूको गर्धन छिनाएर
थकाइ मारिरहेकाहरूको विश्रामस्थल हो संसद ।।

  • नविन अभिलाषी
    दाङ