जहाँ तरवारहरू बज्छन् ।
घाँटीहरू छिन्छन् ।
भाँचिएका कुर्सी मुनी छरपस्ट दापहरू छन् ।
म्यानहरू छन् ।
गोलीका खोकाहरू छन् ।
रगतमा डुबेका काला जुत्ताका छापहरू छन् ।
घोडाका टापहरू बज्छन्, गिडगिडाउछन्,
गोलीले छेडेको रोष्टमबाट
खुनले लेखेका चिठ्ठीहरू पढिन्छन् ।
संसद, एक कुरुक्षेत्र हो ।
तनक्क तन्केका बाणका आवाजहरू सुनिन्छन् ।
भेटिन्छन् संसदमै
टोल टोलमा कटारी देखाउनेहरू
सीमानामा अफिम र आफ्नै चेली बेच्नेहरू
मध्यरातमा खोला उत्खन्नेहरू
संसदमै भेटिन्छन्
सडकमा नारा लगाउदा लगाउदै हराएकाहरू ।
मन्दिरबाट मूर्ती उठाउदा उठाउदै समातिएकाहरू ।
नाङ्गै भागेकाहरू र कैदिहरू ।
आधुनिक महफिल हो संसद
जहाँ सुगाहरू गीत गाउँछन्, लय हाल्छन् ।
कविता भन्छन् ।
ठट्टा, टुक्का र सायरीहरू सुनाउछन् ।
गरुडको छाँयामुनी सर्पहरू मुजुरा नाँच्छन् ।
हजार वर्ष लामो
निरोले फुकिरहेको बासुरीको धुनमा निदाउछन् ।
संसद एउटा बजार हो,
टाउकाहरूको बजार ।
किन्ने र बेचिन तयारहरूको बजार
सके थोकमा
नसके फुटकरमा
फुटपाथमै मूल्य घटाउने र बढाउनेहरूको बजार ।
यो अंक गणितको हिसाव
कहिल्यै मिलाउन नसक्नेहरूको बजार ।
यो बजार
तस्करहरुको ट्रान्जिट पोइन्ट हो ।
गढिमाईको मेलामा
हजार सपनाहरूको गर्धन छिनाएर
थकाइ मारिरहेकाहरूको विश्रामस्थल हो संसद ।।
- नविन अभिलाषी
दाङ

