दुर्गाप्रसाद आचार्य, टोकियो । जापान क्रिकेट संघले आयोजना गरेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टिमले विजयी हात पारेको छ ।
८ देशको सहभागितामा अक्टोबर ३० र ३१ तारिख तोचिगीको स्मल अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको एम्बेसी कप-२०२१ नेपालले बिजयी भएको हो ।
नेपाल एम्बेसीको तर्फबाट १६ जना नेपाली खेलाडीहरु सहभागी भएका थिए । यस पटकको नेपाली क्रिकेट टिम, अजय ठाकुरको कप्तानीमा सिद्धान्त खत्री, अर्जुन गौतम, बिनम्र खत्री, विक्रम रानामगर, पंकज चन्द, उपहार रायमाझी, क्षितिज पाठक, सन्तोष पौडेल, शक्ति क्षेत्री, रोशन दंगाल,सुजन बास्तोला, उज्वल रायमाझी, दिपक सुनार , अभिषेक केसी र विकास केसी सम्मिलित रहेका थिए भने टिमको व्यवस्थापन नेत्र रोकाले गरेका थिए ।
उक्त प्रतियोगितामा नेपाल सँगै भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलंका, ब्रिटेन, न्युजिल्याण्ड र अष्ट्रेलिया एम्बेसी र जापानको अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो ।
हरेक बर्षको सेप्टेम्बर महिनाको अन्त्यमा आयोजना हुँदै आएको एम्बेसी कप यस पटक भने जापानमा आपतकाल लागू रहेका कारण एक महिना ढिलो गरि आयोजना भएको हो ।
सन २०१८ बाट शुरु भएको एम्बेसी कपमा नेपाल पहिलो पटक र दोस्रो पटक २०१९ मा उपबिजेता बनेको थियो भने नेपाली टिम २०२० मा भने समुह चरणबाटै बाहिरिएको थियो । यस पटक भने विजेता बनेको छ ।
नेपालका विभिन्न ज़िल्लाका क्रिकेट प्रतियोगितमा खेलेर अनुभव र दक्षता हासिल गरेका युवाहरुको समूह सम्मिलित गठन गरिएको टोकियो राइनो क्रिकेट क्लबले जापानमा हुने क्रिकेट प्रतियोगितामा भाग लिदै आइरहेको छ ।

