बिहिबार, बैशाख १०, २०८३

एम्बेसी कपमा सहभागि नेपाली टिमलाई एनआरएनए जापानद्धारा २ लाख ४४ हजार येन आर्थिक सहयोग

टोकियो । जापान क्रिकेट संघको आयोजना हुन लागेको एम्बेसी कप क्रिकेट प्रतियोगिताको लागी सहभागि नेपाल एम्बेसीको क्रिकेट टिमलाई एनआरएनए जापानले लाग्ने सम्पूर्ण खर्च रकम सहयोग गरेको छ ।
अक्टोबर ३० र ३१ तारिख साइतामा केनको स्मल अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसी कप २०२१ मा सहभागि नेपाली टिमलाई शुक्रबार एक समारोहका बिच २ लाख ४४ हजार येन रकम सहयोग सँगै सफलताको लागि शुभकामना सहित उक्त सहयोग रकम हस्तान्तरण गरेको महासचिब सिद्धार्थ श्रेष्ठले जानकारी गराउनु भयो ।

नेपाल एम्बेसिको तर्फबाट १६ जना नेपाली खेलाडी सहभागी हुँदै छन् । एम्बेसी कपमा नेपाल सँगै भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलंका , ब्रिटेन , न्युजिल्याण्ड र अष्ट्रेलिया एम्बेसी र जापानको अन्तर्राष्ट्रिय टोलिको सहभागिता रहने छ । सम्पुर्ण खर्च एमबिसीले गर्नु पर्नेमा एमबिसीले नगद सहयोग गर्न नसक्ने जानकारी गराए पछि खेलाडीहरू खेलमा सहभागी हुनबाट बन्चित हुन नपरोस भनेर खेलाडीहरूले आवश्यक रकम माग गरेर दिएको निबेदनलाई हेरी सम्पूर्ण लाग्ने खर्च उपलब्ध गराएको एनआरएनए जापानले जनाएको छ ।

कार्यक्रममा खेलाडीहरूलाई हौसला प्रदान गर्दै जितको शुभकामना मन्तब्य प्रमुख अतिथी आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक ओम गुरूङ, संघका उपाध्यक्ष राम थापा अनिल, संगिता अधिकारी सुवेदी र खेलाडीको तर्फबाट धन्यबाद एवं खेलाडीका समस्या क्रिकेट संघ जापानका अध्यक्ष भिम बिनम्र खत्रीले राख्नु भएको थियो ।

सहयोग संकलनको जिम्मेवारी सचिब देवराज उप्रेतीलाई दिएको थियो । सहयोग एनआरएनए केन्द्र र क्षेत्रीय समितिको संयुक्त थियो। खेलाडीलाई सहयोग संगै खादा ओडाएर नेपाली झन्डा र एनआरएनएको झन्डा हस्तान्तरण गरिएको थियो ।