सोमबार, भदौ २४, २०८१

एमाले नेताहरुले भने मैदानमा जादाँ अराजनीतिक सम्बन्ध नहोस्

दमक,२१ फागुन । नेकपा एमालेले आफ्नो मेची महाकाली राष्ट्रिय अभियान बिथोल्न अपराधिक ढंगका हमला हुन थालेको भन्दै सरकार तथा मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । साथै मधेसी मोर्चाका शीर्ष नेताहरुलाई त्यस्ता गतिबिधि रोक्न आग्रह गरेको छ ।
अभियानको पहिलो दिनको समिक्षा गर्दै एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले दमकमा आयोजित पत्रकार सम्मेलनमा पहिलो दिनमै डेढ लाख जनता सहभागी भएको बताए ।
एमालेको मधेस अभियानलाई लक्षित गरेर मोर्चाले जनकपुर, राजविराज लगायतका स्थानमा बन्द हड्ताल आह्वान गरेको छ ।
एमाले सचिव भट्टराईले भने बन्द हड्ताल फिर्ता लिन आग्रह गरिएको र आफ्नो आग्रह नसुनिए पनि बन्द तोडेर एमालेको अभियान मधेसमा जारी रहने बताए ।

उनले भने, ‘एमालेसँग अराजनीतिक सम्बन्ध नहोस् भनेर हामीले मोर्चाका शीर्ष नेताहरुलाई भनेका छौं । उनीहरुले अनविज्ञता देखाएका छन् । एमालेको अभियान कसैको धम्की, बन्द र हड्तालबाट रोकिँदैन । हामीले पूर्व घोषित गरेका कार्यक्रमको सुरक्षाको जिम्मेवारी सरकारको हो ।
पहिलो दिनको अभियानलाई दमकमा समापन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अभियान कुनै राजनीतिक दलविरुद्ध लक्षित नभएको भन्दै मधेसका जनतालाई एमालेको दृष्टिकोण बताउन केन्द्रित रहेको प्रष्ट पारे । उनले कसैका अवरोधबाट एमाले डराउने पार्टी नरहेको बताए ।
एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले मधेसी जनजाति सबैको पक्षमा संविधानले अधिकार दिए पनि गलत मनसाय राख्ने र नेपाल असफल बनाउन चाहनेले गलत प्रचार गरेकाले एमालेले मेची महाकाली अभियान चलाएको बताए ।
एमालेले मधेसका नेता कार्यकर्तालाई मैदान नछाड्न र संयमित भएर अभियानको प्रचार प्रसारमा केन्द्रित हुन निर्देशन दिएको छ । एमालेको नीति मूठभेड गर्ने नरहेको र आफ्ना धारणा मधेसी जनतामा लैजान कसैले रोकेमा त्यसको प्रतिवावद गर्ने नीति एमालेले सुनाएको छ ।
मधेस र मधेसी मोर्चा अलग अलग भएकाले मोर्चाका एजेण्डालाई मधेसी जनताका एजेण्डाका रुपमा लिन नहुने एमाले नेताहरुले बताए । सचिव भट्टराईले मधेसी मोर्चाका एजेण्डामा एमाले असहमत भएको तर, मधेसी जनताको मागको पक्षमा रहेको दाबी गरे ।