शुक्रबार, चैत १६, २०८०

जापानको १०० औं प्रधानमन्त्रीका रुपमा किशिदाले औपचारिक जिम्मेवारी सम्हाले

टोकियो । जापानको नयाँ प्रधानमन्त्रीका रुपमा फुमिओ किशिदाले औपचारिक जिम्मेवारी सम्हालेका छन्।

लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष ६४ वर्षीय किशिदा जापानको नयाँ प्रधानमन्त्री बनेका हुन ।सोमबार प्रतिनिधि सभा र हाउस अफ काउन्सिलरको असाधारण सत्रमा किशिदा जापानको नयाँ प्रधानमन्त्रीमा बनेका थिए ।

किशिदा जापानको राजनीतिक ईतिहासमा १०० औं प्रधानमन्त्री हुन् । डाइटका दुबै कक्षका सांसदहरूले मुख्य सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नवनिर्वाचित नेतालाई मतदान गरेका थिए ।

किशिदाले संसदको तल्लो सदनको ३११ मत पाएका थिए । यो संख्या बहुमत भन्दा ८० मतले बढी हो । उनले माथिल्लो सदनमा १४१ मत प्राप्त गरे, जुन बहुमतको लागि आवश्यक भन्दा २० मत बढी थियो ।

६४ वर्षीय राजनैतिक अनुभवी सुगा योशिहिदे जो निवर्तमान प्रधानमन्त्री हुन् उनले एलडीपी नेताको रूपमा पुनः चुनावमा भाग नलिएपछि किशिदाले अन्य चार प्रतिस्पर्धीलाई हराउँदै बाजी मारेका हुन् ।

सत्ताधारी एलडिपीको ३० बर्षे ईतिहाँसमा पहिलो पटक कोचिकाई समुहबाट प्रधानमन्त्री चुनिएको हो । त्यो गुटबाट अन्तिम पटक मियाजावा किची प्रधानमन्त्री बनेका थिए ।

किशिदा जापानको शीर्ष कूटनीतिज्ञको रूपमा आफ्नो कार्यकालमा सफल मानिएका थिए । परराष्ट्र मन्त्रीको रूपमा आफ्नो चार बर्ष भन्दा बढी समय जापानको छिमेकीहरु र सहयोगी देशहरुसंग सम्बन्ध सुधार गर्न काम गरेका थिए । उल्लेखनीय रुपमा किशिदाले हिरोशिमाको पहिलो भ्रमणको रुपमा अमेरिकी राष्ट्रपति बराक ओबामालाई गराउँदा उनले त्यसको जिम्मेवारी सम्हालेका थिए ।

किशिदाले अब आफ्नो मन्त्रिमण्डल गठन सहित घोषणा गर्नेछन् । सोमबार साँझ नै सम्राटले शाही दरबारमा किशिदा र उनका मन्त्रीहरुलाई अनुमोदन गर्नेछन् ।