बुधबार, बैशाख १२, २०८१

साइँली’को बढ्दो लोकप्रियता

काठमाडौं, ३ फागुन । सुन साइँली साइँली परदेशबाट म आउँला,
सुन साइँली साइँली परदेशबाट म आउँला,
सुन साइँली साइँली दियोमा तेलै हुरुरु,
सम्झी कहिल्यै नरुनु,

युट्युबमा भिडियो सार्वजनिक भएको तीन दिन नबित्दै मंगलवार दिउसोसम्म झन्डै १७ लाखले हेरिसकेका छन् ।   युट्युबमा अहिले नेपाल र कतार ट्रेन्डिङमा पहिलो नम्बरमा छ। अडियो भने १५ लाखभन्दा बढीपटक सुनिएको छ।

यो गीत कालिप्रसाद बास्कोटाको हो । हिमाल साउदसँग मिलेर बास्कोटाले गीतको लेखन र संगीत तयार पारेका हुन्। जसको यसै वर्ष ‘नीर जैले रिसाउनी’ लगत्तै ‘ठमेल बजार’ हिट भइरहेको छ। यसलगत्तै सार्वजनिक गीत हो ‘साइँली।’ गीतलाई हेमन्त रानाले गाएका छन्। जसको यसअघिको ‘लैजा रे’ बोलको चर्चित गीतका सर्जक र संगीतकार बास्कोटा नै हुन्।

बास्कोटा करिब दुई महिनाअघि सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका थिए। जहाजमा फर्कंदै गर्दा उनलाई यो गीतको अवधारणा फुरेको थियो।

सांगीतिक कार्यक्रममा उनलाई सुन्न आउने वैदेशिक रोजगारीमा गएका नेपालीहरु हुन्। कार्यक्रम अघिपछिको समय होस् या जहाजमा, उनी रोजगारीका सिलसिलामा विदेश गएका/जाँदै गरेका नेपालीहरुका कथा सुन्थे।

‘मैले यो गीत आफूलाई सोचेर लेखेको हुँ, मेरै कथाजस्तो लाग्छ,’ बास्कोटाले सेतोपाटीसँग भने, ‘मैले ती नेपालीहरुको कथा सुन्दा छोराछोरीलाई पढाउन, अलि राम्रो घर बनाउन विदेश आएको भन्थे। खाडी देशका कार्यक्रममा जाँदा उनीहरु विछट्टै रमाएको देख्थेँ तर, त्यो रमाइलो केहीछिनमै हराउँछ भन्ने बुझ्न गाह्रो थिएन। उनीहरुको दिमागमा जतिखेरै आफ्नो गाउँठाउँ नै घुमिरहेको हुन्छ। जब आफूले साँचेको सपना पुरा हुन्छ अनि देश फर्किउँला, श्रीमती/छोराछोरीसँग बुढेसकालसम्मै सँगै बसौंला भन्ने सोच पालिराखेका हुन्छन्। मैले धेरै नेपालीका यस्ता कथा सुनेपछि आफैंले भोगेजस्तो लाग्यो र लेख्न बसेँ।’

उनले नेपालीहरुका यस्ता कथा धेरै पहिलेदेखि नै सुन्दै आएकाले गीत बनाउने सोच पनि उहिल्यैदेखिको हो। तर, समय लाग्यो। दुई महिनाअघि सिर्जियो। वैदेशिक रोजगारमा गएका अधिकांश गाउँका भएकाले उनले गाउँतिरको चालचलन र लवज गीतमा मिसाउन हर्क साउदको सहारा लिए। दुई जनाले गीत लेखे। बास्कोटाले संगीत भरे।

एकदिनको भेटघाटमा हेमन्त रानालाई गीत सुनाएका थिए। हेमन्तले भनेछन्, ‘निकै राम्रो गीत।’

वास्तवमा, कालिले उनको हाउभाउ बुझ्न चाहेका रहेछन्। ‘म हेमन्तलाई सरप्राइज दिन चाहन्थेँ,’ उनले भने, ‘किनकि, गीत तयार पार्दा नै हेमन्तकै स्वर सोचिसकेको थिएँ। हेमन्तलाई भन्दै नभनी गीत तयार पारेको हुँ। अहिले हेमन्तको गायकीका कारण यो गीत रुचाइएको हो।’

कालिले आफूमाथि विश्वास देखाएपछि हेमन्त पनि निकै खुसी भए। लगत्तै उनले भिडियोका दृश्यहरु सोच्न थालेछन्। रानाले पनि विदेश जाँदा रोजगारीका लागि गएका नेपालीहरुका कथा सुन्दै आएका थिए। सुनेका कथाअनुसारकै दृश्य राखेर उनले भिडियोसमेत आफैंले निर्देशन गरे। सार्वजनिक भएको दुई दिनमै यति लोकप्रिय हुनुमा भिडियोका दृश्य र मेनुका प्रधान र गौरव पहारीको अभिनयले पनि भूमिका खेलेको छ।