मर्ने हुटहुटी

–जीवन अर्याल ।
लिभिङ रुमको पूजा गर्ने ठाउँमा राखिएका शिव, पार्वती, गणेशजीका तस्बिरअघि सात–आठ घण्टाजति घोप्टो परेर भनें, “हे ईश्वर, यो मेरो अन्तिम सास होस् । यो कष्ट सहन सक्दिनँ । मेरो समय आयो, यो पीडाबाट मुक्ति देऊ !”

मेरो मुटु एकदमै जोडले धड्किरहेको थियो । सास छिटोछिटो चलिरहेको थियो । छाती पोलेर छटपटाइरहेकी थिएँ । म एक झप्को निदाउन सकिनँ ।

बेलुकी ८ बजेदेखि आँखा एकपटक नझप्काई बिहानको ५ बज्यो । झ्यालबाहिरको आकाश हेर्दै टोलाइरहें । जसरी पनि निदाउँछु भनेर आँखा चिम्लिएँ । मोबाइलमा मृत्युञ्जय मन्त्र बजाएँ । आँखामा आफ्नो पीडाबाहेक कसैको तस्बिर नाचेन । घरिघरि बाबाको सम्झनाले आँखा रसाएको धमिलो याद छ ।

तीन घण्टापछि आँखा खुल्यो । त्यतिखेर म अस्पतालमा थिएँ । छोरालाई ड्राइफुडहरू दिएर श्रीमानले मलाई बेहोशीमै जोसिदाई (ब्योइन) अस्पताल पु¥याउनुभएछ । अस्पतालमा डक्टरसँग बोल्दा, भेट्दा र समस्या सुनाउँदा मन शीतल हुन्थ्यो । मृदृभाषी डक्टरको हेरचाहले मलाई आफ्नी आमाको सम्झना हुन्थ्यो ।

सबै समस्या भनेपछि डक्टरले मुटु, फोक्सो, पेट, थाइरोइड, रगत, मृगौला, सुगर, ब्लडप्रेसर सबै चेक गर्न लगाउनुभो । हामी रिपोर्ट कुरेर बस्यौं । त्यसको दुई घण्टापछि पुनः डक्टरसँग भेट भयो । सबै कुरा सामान्य छन् भन्नुभयो । खुशीले मन ढक्क फुल्यो । एकमन सोचें— यस्ता डाक्टरको हातमा रहें भने म कहिल्यै मर्दिनँ । बाँच्न पाउनुजत्तिको खुशी कि मनीषा कोइरालाले भोगिन्, कि म भोग्दै छु ।
० ० ०

महिलालाई त्यसै पनि धेरै गाह्रो हुन्छ । महिनावारी हुँदा मनमा विभिन्न विचार आउँछन् । कतिले त दुःख थेग्न नसकेर पाखुरामा सुइँ घोप्छन् । मनभित्र चीत्कार छुट्ने यस्तो दुःख प्रश्रव वेदनामा शिखर पुग्छ । त्यो चीत्कार अरूले पनि सुन्छन् ।

मेरो महिनावारी नियमित हुँदैनथ्यो । प्रायः ४५ दिनमा हुन्थ्यो । तर, त्यसपटक (पाँच महिनाअघि) ७५ दिनमा भयो । पीडा पनि भएन, शुरुमा धेरै रगत पनि देखिएन । पाँच दिनपछि बेस्सरी रक्तश्राव हुन थाल्यो । त्यसअघि यस्तो अनुभव थिएन । रोकिएला भन्ने ठानी बसें । ७, १० दिन हुँदै १२ औं दिनमा पनि नरोकिएपछि माचिया स्टेसन नजिकैको महिला अस्पताल गएँ । डक्टरलाई सबै कुरा बताएँ । भाषा राम्ररी नबुझे पनि अनुवाद गरेर बुझाउने जापानी कति राम्रा !

मेरो पाठेघरको जाँच भयो । रक्तश्राव महिनावारीका कारण रहेनछ । जापानमा अड्कलका भरमा औषधि दिइँदैन । यस्तो कुरामा बदनाम नेपालमात्रै हो !

डक्टरहरूले आफ्नै भाषामा ‘क्यान्सरको बायोप्सी गर्ने’ भनिरहँदा म लत्र्याकलुत्रुक भइसकेकी थिएँ । यस्तो लाग्यो— मानौं मेरो शरीरमा हजारौं स–साना कमिलाले चिटिकचिटिक टोकिरहेका छन् । हातका पाखुराभरि स–साना गिर्खा उब्जिए र छिनभरमै हराए ।

डक्टरले पाठेघरबाट थोरै मासु झिके र रिपोर्ट लिन १५ दिनपछि बोलाए । धेरै नै रक्तश्राव भइरहेकोले आइरन जाँच गर्न रगत झिकियो । रिपोर्ट नआउन्जेल बसेर मोबाइल चलाउन थालें । टिकटक खोलें । संयोग हो या दुर्भाग्य— एउटा भिडियो देखेर मेरा आँखाबाट बर्बरी आँसु झरे । ‘म पाठेघरको क्यान्सरका कारण तीन वर्षभित्र मर्दै छु’ भनेर एकजना दिदीले रुँदै भिडियो बनाउनुभएको रहेछ । यत्ति नै बेला किन यो भिडियो मेरो टाइमलाइनमा आयो ? कतै अशुभ संकेत त होइन ? म झन् अस्थिर र उद्विग्न भयो । भक्कानिएँ ।

रगत धेरै बगिसकेकोले निकै कमजोर भएकी थिएँ । त्यसमाथि मूल कारण पत्ता नलाग्दा तनावको पहाडले थिचेजस्तो भयो । जसोतसो मन सम्हालें । रगतमा आइरनको मात्रा निकै कम भइसकेको रहेछ । रक्तश्राव रोक्ने औषधि र एक महिनाका लागि आइरन चक्की दिएर घर फर्किएँ ।

यसपछि मेरो दैनिकी यसरी फेरियो, मानौं म जीवनको अर्को पाटोमा भर्खर बामे सर्दै छु र मैले अघिल्लो जिन्दगी अर्कै पाटोमा कतै छाडेर आएकी छु । अनि पढ्न, हेर्न थालें— क्यान्सरका लक्षणहरू । मनीषा कोइराला, युवराज सिंहदेखि भेटिएसम्म सबैका अन्तर्वार्ता र संघर्ष हेरें । त्यसपछि मलाई क्यान्सर छैन भन्नेमा लगभग ढुक्कजस्तै भएँ । लागिहालेको भए पनि पहिलो स्टेज हो, थोरै दुःख त हुन्छ तर पूर्ण ठीक हुन्छ भन्ने आत्मविश्वासले भरिएँ । त्यसपछि फोन हेर्न र अन्तर्वार्ता सुन्न छोडिदिएँ ।

बायोप्सीको रिपोर्ट कहिले आउला भन्ने उच्चाटमय समय निकै अस्थिर हुन्छ । औषधि खाँदा पनि रगत नरोकिँदा भने मलाई कताकता क्यान्सरकै डरले गलाउँथ्यो ।

एकदिन राति २ बजे पिसाब फेर्न उठें । यतिबेला रातमा निद्रा नलाग्ने समस्या पनि थपिएको थियो । भर्खर १ बजे झुपुक्क भएकी थिएँ, २ बजे निद्रा खुलिहाल्यो । पिसाब फेर्दा अति धेरै रगत बग्यो । मन अत्तालियो । शरीर एकदम कमजोर भएको थियो । ओच्छ्यानमा पल्टिएर बाबुलाई चुम्मन गरें र सुते । सुदीप अर्को कोठामा सुत्नुभएको थियो, सजिलो होस् भनेर ।
सवा २ बजेतिर सास फेर्न सकिनँ । जुरुक्क उठेर घरको छततिर दगुरें । चिच्याएर सुदीपलाई बोलाएँ । अक्सिजन पुगेन भन्ने थाहा थियो, धन्न मोबाइल बोकेर दौडिएछु । अक्सिजन कम हुँदा के गर्ने भनेर हतार–हतार यूट्युबका भिडियो खोलें । सुदीपलाई एम्बुलेन्स बोलाउन भनें । अदुवा मगाएँ । छतको गमलामा पुदिना थियो । टिपेर नाकमा हालें र अदुवा चपाएँ । थोरै राहत भयो । अक्सिमिटर नजिकै राखेर सुत्ने गरेकी थिएँ । कोरोनाका बेला काम लाग्ला भनेर किनेको ३ हप्ता भएको थियो । अक्सिजन लेभल ८८ मा झरेको रहेछ । ९२ देखि तल झर्नु राम्रो होइन भन्ने थाहा थियो । चिसो छत पनि साह्रै न्यानो लागिरहेको थियो । अक्सिजन चाहिएकोले खुला आकासमुनि राहत महसुस भयो । अक्सिजन लेभल ९२ सम्म पु¥याएँ । कोरोनाको सोधपुछले एम्बुलेन्स आउन ढिला भयो ।

पहिलो पटक जाँच गरेको अस्पतालका डक्टरसँग कुरा गरेपछि उहाँहरूले अस्पतालमै ल्याउन भन्नुभयो । घरको तल्लो तलामा बस्ने गुल्मीका भाइबहिनीलाई छोराको जिम्मा लगाएर म स्ट्रेचर चढें । पहिलो पटक स्ट्रेचर चढ्दा मन चिसो भयो । तप्प आँसु झ¥यो । स्ट्रेचरबाट एम्बुलेन्समा राखेर अस्पताल पु¥याइयो । पुरुष भित्र छिर्न नपाउने भएकाले सुदीप जान पाउनुभएन । बिरामी हुँदाको एक्लोपनले मान्छे चिन्तामै गल्छ । म पनि गलें ।

आवश्यक जाँच गरिसकेपछि डक्टरले घरमै गएर आराम गर्न भन्नुभयो । अझै केही दिन रक्तश्राव हुन्छ भन्नुभयो । मलाई अस्पतालमै बस्न मन थियो । रातबिरात अप्ठ्यारो हुँदा घरभन्दा अस्पताल नै सजिलो हुन्छ । कोभिडका कारण अस्पताल आउजाउ गर्नै पनि मुस्किल थियो । तर, डक्टरले पठाइसकेपछि आफ्नो केही लाग्दैन । डक्टरले नियमित औषधि खान र झ्याल खोलेर घरमै आराम गर्न सल्लाह दिनुभयो ।

घरमा आएर पटक्कै निद्रा परेन । बिहान हुनेबित्तिकै ठूलो अस्पताल जाने सोचें । जापानमा बिदा मिलाउन अलि गाह्रै पर्छ । जसोतसो सुदीपले आधा दिनको बिदा लिनुभो ।

अर्को दिन बिहानै साढे ९ बजे पुराना रिपोर्टहरू लिएर जोसिदाई ब्योइन अस्पताल पुग्यौं । महिला डक्टर आफैं पनि दुईजिउकी हुनुहुँदो रहेछ । उहाँको बोली, व्यवहार र कोभिडका बेला पनि त्यस्तो लगनशीलता देखेर मैले आमा सम्झिएँ । मन एकाएक शीत्तल भयो । उहाँले भनेका ती वाक्य सम्झिएर म आधाउधी निको भइसकेकी थिएँ, “आत्तिनु हुन्न, यस्तो धेरैलाई हुन्छ । केही समयमा निको हुन्छ ।”

बायोप्सीका लागि पहिले नै अर्को अस्पतालमा स्याम्पल दिइसकेकाले त्यही रिपोर्ट पर्खिने सल्लाह भयो । उहाँले औषधि फेरिदिनुभयो, आइरन चक्की थपिदिनुभयो । ‘अर्को पटक महिनावारी हुँदा पुनः केही रगत जान्छ, नआत्तिनू’ भन्नुभयो ।

डक्टरले भनेबमोजिम निरन्तर औषधि खाएँ । १८ औं दिनपछि रक्तश्राव रोकियो । आइरन कम भएको हुँदा पालुंगोको साग, गाँजर, अनार खान डक्टरले सुझाउनुभएको थियो । जापानका पसलमा प्रायः अनार पाइँदैन । सिजनमा आक्कलझुक्कल बाहेक मैले देख्थिनँ । हामीले अमेजनबाट अमेरिकादेखि मगायौं । प्रतिकिलो ३३०० येन तिरेर २ महिना निरन्तर अनार मगायौं । यतिबेलासम्म म कपाल कोर्न, हिँडडुल गर्न नसक्ने र फोनमा बोल्न नसक्ने अवस्थामा थिएँ ।

गुल्मीका भाइ लेखनाथ र बहिनी रचनाले त्यस्तो अवस्थामा लगाएको गुन जिन्दगीभरि भुल्नेछैन । रचनाले १५ दिन जति खान खुवाउने, घर सफा गर्ने, कपाल कोरिदिने गरिन । बिरानो देशमा आफ्नै सम्झिएर उहाँहरूले गर्नुभएको सहयोगले परिवार बिर्साइदियो । त्यतिबेलासम्म नेपालमा हुनुहुने बाबा–मम्मी, भाइबहिनी कसैलाई केही भनेकी थिइनँ । आत्तिनुहुन्छ भनेर ।

बिस्तारै ठीक हुँदै गयो । इन्टरनेरमा यस्तो समस्याबारे खोज्न थालें । जापानी महिलाहरूलाई यो समस्याले निकै सताउने रहेछ । के भएको भनेर थाहा नहुने तर हरेक महिनावारीका बेला दुःख दिने । मेरो त पहिलो अनुभव थियो । मलाई पनि उनीहरूजस्तै हरेक महिनावारीमा दुःख दिइरहने हो कि भनेर मन अमिलो हुन्थ्यो । नेपालमा ४० वर्ष कटेका ६० प्रतिशत महिलामा पाठेघरको समस्या हुन्छ । पाठेघरको क्यान्सरका कारण हुने महिला मृत्युदर डरलाग्दो रहेछ । सानै उमेरमा विवाह गर्ने र गर्भवती हुने, धेरै सन्तान जन्माउने, विभिन्न गर्भनिरोधक साधन प्रयोग गर्ने, सरसफाइमा ध्यान नदिने महिलाहरू यसको उच्च जोखिममा पर्छन् ।

बच्चा जन्मिएपछि पहिलो वर्ष, त्यसपछि तीन वर्ष अनि पाँच–पाँच वर्षमा पाठेघर अनिवार्य जाँच गर्नुपर्ने रहेछ । मलाई जानकारी थिएन । तर, छोरो जापानमै जन्मेकोले म केही वर्ष उतै बसेकी भएर जापान सरकारले पेपर पठाउँथ्यो । दुई वर्षअघि पाठेघर जाँच गरेको सम्झना आयो । सबै सामान्य थियो । केही राहत महसुस भयो । तमाम नेपाली दिदीबहिनी सम्झिएर भावुक भएँ ।

लाज मान्ने प्रवृत्तिका कारण नेपालमा यस्ता रोग लुकाउने, अस्पताल नै नगइदिने समस्या छ । हुन पनि हो, हामी यस्ता समस्याका बारेमा खुलेर कुरा गर्दैनौं, भित्रभित्रै सहन्छौं । त्यसैले पनि मलाई केही लेख्न मन लाग्यो । यो अनुभूतिले कम्तीमा एक जनालाई मात्रै बचाउन सकें भने मेरो जीवन धन्य हुनेछ ।

औषधि खान थालेको १४ औं दिनको दिन मैले नयाँ जीवन पाएको महसुस गरें । बिहानदेखि निकै जाँगर चलिरहेको थियो । मम्मी, बाबा, भाइ, बहिनी सबैलाई भनें । त्यो दिन म सर्वाधिक खुशी थिएँ । मम्मुलाई निको भयो भनेर छोरो पनि निकै खुशी देखिन्थ्यो । मैले पूरै घर सफा गरें । नुवाइधुवाइ गरें ।

आइरन चक्कीले गर्दा पेट निकै फुलेको थियो । मोटोपना बढेको जस्तो भयो । नेपालमा जस्तो जापानमा एन्टिबायोटिक खानुअघि ग्यास्ट्रिकको औषधि दिने चलन छैन । धेरै यताउति गरेर हो कि कुन्नि— पेट झनै बेस्सरी फुल्यो । यूट्युब हेरेर बेसार, ज्वानो, अदुवा, जिरापानी खाएँ । रात छिप्पिँदै गएपछि भने अत्तालिन थालें । बहिनी रचनाले पालुंगोको साग र रोटी बनाएर दिइन् । एउटा अनार खाएँ । त्यत्तिबेलासम्म ठीकठीकै थियो । राति १२ बजेपछि एक्कासि मुटु पोलेजस्तो भयो । निदाउनै सकिनँ । छटपटी बढ्यो । दौडिँदै अस्पताल जाऊँ जस्तो भयो । सुदीपले ‘अस्तिको जस्तै फर्काइदिन्छ अस्पतालले’ भन्नुभो । म सीधा सुत्नै नसक्ने भएकी थिएँ । बल्लबल्ल २ बज्यो, सुदीप भुसुक्क निदाउनुभो ।

म किचनमा झरें । बोल्न सक्ने अवस्थामा थिइनँ । कसैको याद पनि आएको थिएन । आक्कलझुक्कल बाबाको याद आएको सम्झिन्छु । बाबालाई सम्झिँदा बाँच्न मन लागे जस्तो हुन्थ्यो । मुटुको गति अति छिटोछिटो चल्यो । तेर्सो गरी सुत्नै सकिनँ ।

नेपालबाट लगभग सबै भगवान्का तस्बिर लिएर गएकी थिएँ । लिभिङ रुमको पूजा गर्ने ठाउँमा राखिएका शिव, पार्वती, गणेशजीका तस्बिरअघि सात–आठ घण्टाजति घोप्टो परेर भनें, “हे ईश्वर, यो मेरो अन्तिम सास होस् । यो कष्ट सहन सक्दिनँ । मेरो समय आयो, यो पीडाबाट मुक्ति देऊ !”

त्यतिबेला म भोलिसम्म बाँच्दिनँ भन्ने लागिसकेको थियो । तर, दुःख लागेन । मर्नदेखि पटक्कै डर लागेन । मृत्युले कमसेकम यो शारीरिक पीडाबाट मुक्ति त दिन्छ भन्ने लागिरह्यो । २ देखि ५ बजेको बीचमा अहिले नै सास गइहालोस् भन्ने लाग्यो । अलिकति राहत महसुस हुँदा भने मनमा अनेक कुरा खेल्थे । आँखामा छोरा, लोग्ने कसैको अनुहार आएन । बाबाको धमिलो तस्बिर देख्दा उहाँकै लागि बाँच्छु भन्ने संकल्प गरेको भने सम्झिन्छु ।

म ३३ वर्ष पुग्दै थिएँ अर्को महिना । भोलिसम्म मरिसक्छु, जन्मेपछि मर्नै पर्छ । धन्न कसैलाई नराम्रो गरेकी छैन । मेरो चित्त दुखाउने दुईजनाको अनुहार आँखामा टाँसियो । उनीहरूलाई पनि माफी दिएँ ।

म नेपालमै मर्नु पर्ने हो । तर, केही छैन— जापानमै मरे पनि कम्तीमा ५ सय मलामी त कमाएकी छु । म आफैं पनि त सात पटक मलामी गएकी छु ! एकपटक त महिला एक्ली मलामी थिएँ म ।

म मरेको खबर सुनेपछि एनआरएनका पूर्वअध्यक्ष भवन भट्टजी पक्कै आउनुहुनेछ । एनआरएनए जापान अध्यक्ष देवीलालजी त झन् सबैभन्दा पहिले आउनुहुनेछ । लाश चाहिँ नेपालै पठाए हुन्थ्यो । मम्मी–बाबा, भाइ, बहिनीले हेर्थे नि ! ह्या ऽऽ मरेपछि जता पोले पनि के भो र ?

प्रवास कमिटीमा त्यत्तिका वर्ष काम गरेकी थिएँ, त्यसका सदस्य पक्कै आउनुहुनेछ । अलिअलि साहित्यमा काम गरें, उहाँहरू पनि आउनुहुनेछ । मलाई माया गर्ने जापानबासी धेरैको अनुहार सम्झिएँ । नेपालमा पनि साथीभाइ सम्झिएँ । फेसबुकमा १–२ सय पोस्ट श्रद्धाञ्जली कसो नआउलान् र !

समग्रमा लाग्यो— मेरो जुनी यसै खेरचाहिँ गएको छैन । यति सोचिरहँदा मेरा आँखा असारे भेलजस्ता भए । शरीर उस्तै गलिरहेको थियो । भगवान्ले कि चिरनिद्रा देऊन् कि रातभरिको मीठो निद्रा देऊन् । दुवै दिएनन् । जसोतसो रातको अँध्यारो मक्किँदै गएर उज्यालो छरियो । अक्सिजन कम कम भएकोले लामो सास तान्न पनि डर लाग्थ्यो । सुदीप ५ बजे तल झर्नुभयो । मलाई माथि कोठामा लिएर जानुभयो । म झ्यालबाहिरको आकाश हेर्दै टोलाइरहें । जसरी पनि निदाउँछु भनेर आँखा चिम्लिएँ । मोबाइलमा मृत्युञ्जय मन्त्र बजाएँ । ६ बजेतिर निदाएछु । ९ बजे आँखा खुल्दा मुटु पोल्न निकै कम भएको थियो । सुदीपले जोसिदाई अस्पतालमा फोन गरेर सुनाउनुभएको रहेछ, १० बजे नै अस्पताल पु¥याउनुभएछ ।

डक्टरलाई औषधिको असर हो कि भन्ने लागेछ । तर, त्यो पनि होइन रहेछ । मुटु, मृगौला, थाइरोइड, पेटको ग्यास, फोक्सो, आइरन लेबल, पिसाब इन्फेक्सन, टाउकोदेखि तल मिल्ने जति सबै जाँच गरियो । एक महिनाअघि मात्रै जापान आएका बेला इन्डोस्कोपी गरिसकेकी थिएँ, सफा देखिएको थियो ।

२ घण्टाजति अस्पतालमै पर्खिएपछि पुनः डक्टरसँग भेट भयो । रिपोर्ट सबै राम्रो थियो । खुशी लाग्यो । आइरन लेभल पनि १० पुगेको रहेछ । मलाई किन त्यस्तो भयो, डक्टरलाई समेत थाहा भएन ।

आइरन चक्की खाँदा ग्यास भरिएजस्तो हुन्छ भनेर त्यसको औषधि मागें । भोलिपल्ट बायोप्सीको रिपोर्ट आउनेवाला थियो । त्यो रिपोर्ट लिएर आउनू भनेर पठाउनुभयो ।

अस्पताल जाने बेला ठूली बहिनी रेखाको फोन आएको थियो । पछि कुरा गर्छु भनेर राखिदिएकी थिएँ । बहिनी सुत्केरी हुन दुई महिना बाँकी थियो । उसलाई तनाव दिनु हुँदैन भन्नेमा सचेत थिएँ । उसले मम्मीलाई सुनाइछ । बाबा–मम्मीले आत्तिएर तारन्तार फोन गर्न थालेपछि भनें, “मुटु पोलेजस्तो भयो । धड्कन बढ्यो । अरु केही होइन ।”

उहाँले सोध्नुभयो, “के खाइथिस् ?”

“पेट फुलेर बेसार, अदुवा, ज्वानो, जिरा पकाएर खाएकी थिएँ,” मैले भनें, “घर सरसफाइ पनि गरें ।”

मम्मी बम्किनुभयो, “यस्तो बेला किन त्यस्तो खाइस् ? किन उछलकुद गरिस् ? बेसार धेरैै खायो भने पेट पोल्छ ।”

आमा–बुवाहरू अनुभवी हुन्छन्, उहाँको कुराले गम खाएँ । यूट्युबको पछि लागेर ग्यासको समस्या चुड्कीमै ठीक हुन्छ भन्ने भ्रममा म बस्नु हुँदैनथ्यो । म ग्लानिले भुतुक्क भएँ ।

राति बहिनी रेखाले फोन गरेर हकारी, “आफ्नो ख्याल नगरेर दुनियाको पीर गर्न पर्ने ? नेता हुनुपर्ने ? बिरामी निको नहुँदै घर सफा गर्न तम्सिने ? जेपायो त्यै खाने ?”

यति भनिसकेर ऊ हिँक्कहिँक्क गर्न थाली । सुदीप दिउँसोको काममा जानुभएको थियो । मेरो नजिकै रचना र उनका श्रीमान् लेखनाथ भाइ थिए । बहिनी र म सँगसँगै रोएको देखेर आफ्नो कोठातिर गए । मैले रेखाको खप्की सुनिरहें । ऊ यसरी रोएको पहिलो पटक सुनेकी थिएँ । यसले मलाई बाँच्ने हिम्मत बढायो ।

“मलाई ९९ प्रतिशत क्यान्सर होइन भन्ने छ । लक्षण केही मिल्दैन । लाग्ने कारणहरू पनि मिल्दैनन् । हाम्रो परिवारमा पनि यस्तो कसैलाई भएको छैन,” मैले बहिनीलाई सम्झाएँ, “मलाई त्यसको डर पनि छैन । बस्– पीडा नभइदिए हुन्थ्यो !”

ऊसँग छुट्टिएपछि बाबुलाई सुताएँ । अक्सिजन लेभल जाँच्दै आइरनयुक्त खाना खाएर सुतें । त्यो रात त्यति अप्ठ्यारो भएन । राति १ बजेतिर निद्रा प¥यो । महामृत्युञ्जय मन्त्र बजाएरै सुत्ने बानी परेको थियो ।

म उठ्दा सुदीप काममा गइसक्नुभएको थियो । उठेर नुहाएँ । मन्दिर हुँदै बायोप्सी रिपोर्ट लिन एक्लै अस्पताल गएँ । क्यान्सर छैन भन्ने ढुक्क हुँदाहुँदै पनि रिपोर्ट सम्झिँदै मन अस्थिर भइसकेको थियो । शरीरमा चिटचिट पसिना आउन थाल्यो । घरदेखि अस्पतालसम्मको बाटो मेरा लागि नाइल नदीभन्दा पनि लामो थियो ।

त्यतिबेला संसार जितेजस्तो भयो, जतिबेला डक्टरले मेरो रिपोर्ट पढ्दै क्यान्सर नभएको जानकारी दिनुभयो । १५ दिनदेखि मरिरहेको मेरो मन एक्कासि बौरियो । लाग्यो— मैले अर्को जन्म पाएकी छु ।

उत्तिखेरै फोन गरेर घरमा सबैलाई यो खबर सुनाएँ । सानी बहिनी सिरु टिलपिल गर्न थाली । भाइ हृदयेशको पनि शायद गह भरियो ।

रक्तश्राव रोकिएको १३ दिनपछि पुनः महिनावारी भएँ । डक्टरले अलि रक्तश्राव हुन्छ भनेकाले पनि डर लागेको थियो । हरेक दिन एउटा अनार, गाँजार, पालुंगोको साग नछुटाई खान्थें । पाँचौं दिनको दिन बेस्सरी रगत गयो । मन अत्तालियो । बिहानपख थियो । उठ्न सकिनँ । जापानमै बस्ने ठूलो भाइ दिनेश भेट्न आएको रहेछ । उसलाई भेटेर म सुत्ने कोठा गएँ । मेरो अवस्था देखेर छोरो सुँकसुँग गर्दै थियो । सम्झाएर हाँस्ने बनाएँ । भ¥याङ चढ्दा बल्ल मेरा आँखा भरिए ।
चार घण्टापछि बाबुलाई सोधें, “किन रोको नि बाबु अघि ?”

उसले भन्यो, “म मम्मीसँग खेल्नु पर्छ, बोल्नु पर्छ, खानु पर्छ । मलाई जत्तिबेला पनि मम्मु चाहिन्छ ।”

“बिरामी सबै हुन्छन्, ठीक हुन्छ नि, आत्तिनु हुँदैन,” मैले भनें ।

“अनि मम्मु, केटीको महिना–महिनामा सबैको रगत आउने रै’छ है ?” उसले सोध्यो । मैले अहिलेसम्म उसलाई भनेकी थिइनँ । कसरी थाहा पायो होला ?

“यूट्युबमा सर्च गरेर थाहा पाको,” उसले यति भनेपछि अब म उसकै लागि भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो ।

महिनावारी भएको सात दिनमा फलोअपका लागि अस्पताल गएँ । मलाई यी सब समस्या हर्मोनका कारण भएको रहेछ । मोटाएँ भनेर डाइटिङ गर्दा समस्या बल्झिएको हुन सक्ने रहेछ । डक्टरले एक महिनाको औषधी दिएर पुनः बोलाउनुभयो । पछि सम्पूर्ण रिपोर्ट राम्रो आयो ।

एक महिनापछि फेरि अस्पताल गएँ । त्यो फलोअप सकेर मलाई सपरिवार नेपाल आउनु थियो । मलाई एकछिन पनि जापान बस्न मन थिएन । बाबु र म नेपाल फर्किएको ३ वर्ष पुगिसकेको थियो । लकडाउनमा सुदीपलाई लिन जापान गएका थियौं । कहिलेकाहीँ सोच्छु— म नेपालमै भएको भए यत्ति नै पीडा भोग्थें होला कि अझ बढी ?

नेपाल फर्किएपछि सासू-ससुरालाई सुनाएँ । उहाँहरू पनि मसँगसँगै पिलपिल गर्नुभो । भन्नुहुन्थ्यो, “मरेर बाँचिछौ, यस्तो दु:ख शत्तुरलाई पनि नपरोस् ।”

नेपाल आएर पनि म निरन्तर फलोअपमा छु । नर्भिक हस्पिटलमा डा. कुन्दुसँग सल्लाह–सुझाव लिइरहन्छु । नेपाल आएयता तीन पटक गइसकें फलोअपका लागि । सबै सामान्य छ । तर, महिनावारी भएको बेला निकै डर लाग्ने भएको छ । मलाई ०७७ सालले राम्रो शिक्षा र नयाँ जीवन दिएर गयो ।

रोगले छाड्दै गएपछि नायिका मनीषा कोइरालाको पुस्तक ‘जीजिविषा’ पढें । विजयकुमारका ‘खुसी’ र ‘सम्बन्धहरू’ पढें । त्यसपछि जानिनजानी केही कोर्ने जमर्को गरें ।

अन्त्यमा सम्पूर्ण नेपाली महिलाहरूलाई बेलाबेला लक्षण नदेखिँदै पनि पाठेघर, स्तन जाँच गराउनुहुन अनुरोध गर्दछु । सरकारले पनि यससम्बन्धी निःशुल्क स्वास्थ्य शिविर राखोस् । दुर्गम क्षेत्रका महिलाहरूका लागि यस्ता शिविरहरू सञ्चालन भएका खबर सुनिरहन्छौं, यो क्रम अझ बाक्लो र व्यापक होओस् । मजस्तै दुःख अरूले नभोगून् !

यो दौडधूपको जिन्दगीमा केही समय आफ्नो लागि पनि निकाल्नुहोला, भोलि लखतरान हुँदा पछुताउनुको विकल्प रहन्न ।

अस्तु !

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: