शुक्रबार, कार्तिक २३, २०८१

कोरियाबाट पौडेलले भने सहमतिमा चुनावको मिति घोषणा

सोल,१५ माघ ।  कांग्रेस नेता रामचन्द्र पौडेलले कोरियाबाट फर्कनसाथ चुनावको मिति घोषणा गर्ने सहमति जुटाउन अभियान थाल्ने बताए । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शुक्रबार सोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले यस्तो भनाई राखेका हुन् ।

नेपालमा चुनाव मिति घोषणा गर्न दलहरुले असहमति जनाइरहेको बेला कोरिया आएका नेता पौडेलले ‘कम्प्रोमाइज’ गरेर भएपनि सहमतिमा आउन दलहरुलाई आग्रह गरे । सत्ताको लागि हैन हालसम्म उपलब्धीलाई व्यवस्थित गर्न दलहरुबीच सहमति हुन आवश्यक रहेको उनले थपे ।

संविधान संशोधन प्रस्तावको गृहकार्य नपुगेको भन्दै असन्तुष्ट मधेसी दललाई मनाएर भएपनि चुनाव गरिनुपर्नेमा उनले जोड दिए ।

यदि चुनाव गर्न नसके संविधानबाट प्राप्त उपलब्धी गुमाउनुपर्ने चिन्ता उनले व्यक्त गरे । हाल प्रतिपक्षी दल नेकपा एमाललेले संविधान संशोधन गर्न नमान्ने र मधेशी दलले संशोधन नगरिए चुनावमा नजाने अडान कस्न थालेपछि चुनावको घोषणा गर्न सरकारलाई समस्या परेको छ ।