धुर्मुसको सपना पूरा होस्, रङ्गशाला बीचमै अलपत्र नबनोस्

नारायण गाउँले । कतिलाई याद छ, प्रायः हरेक सरकारी विद्यालयहरूमा भवन थोरै तर खुला चौर धेरै हुन्थे । दुई महिने बर्खे बिदामा आधा गाउँलाई घाँस पुग्थ्यो । कति विद्यालयपछाडि सानोतिनो जङ्गल नै हुन्थ्यो । सुनिन्थ्यो, स्थायी स्रोत नसुकोस् भनेर कति विद्यालयसँग त आफ्नै खेत पनि थियो ।
बिहान सयौं विद्यार्थी लाइन लागेर राष्ट्रगान गाउँदा होस् या जाड़ो महिनामा पारिलो घाममा खुला आकाशमुनिका कक्षा चलाउँदा होस्, चौरको छाती कत्ति साँघुरो लाग्दैनथ्यो । भलिबल खेल्नेदेखि शिक्षकको आँखा छलेर गुच्चा खेल्नेसम्म, ईंटा र टायलका टुक्रा जोडेर मोजाको बलले ढलाउने खेलदेखि प्राङ्गणमा बसेर गट्टा र चुङ्गी खेल्नेसम्मका गतिविधिका लागि पर्याप्त खुला ठाउँ विद्यालयमा हुन्थ्यो । धेरै जसो विद्यालयसँग सानोतिनो म्याराथन आयोजना गर्न पुग्ने मैदान हुन्थ्यो ।

पश्चिमी समाजमा ‘कम्युनिटी सेन्टर’ले गर्न सक्ने सामाजिक काम हाम्रो विद्यालयले गर्न सक्थ्यो । पञ्चायत ढलेसँगै गाउँ-गाउँमा विकास पस्यो । विकास भनेको पैसा र अग्लो भवन थियो । बाटो छेउको चौर सटर बन्यो । म जान्ने भएदेखि कुनै नयाँ सरकारी स्कुल बनेको र जग्गा थपिएको याद छैन । कति जग्गा त पहुँचवाला नेताहरू मिलेर बाँडचुँड गरी खाए । पञ्चायतले बरु ‘स्कुल’ भनेको भवनमात्रै होइन भन्ने बुझेको थियो, हामीले आगो लाग्दा या भूकम्प आउँदा सुरक्षित जम्मा हुन मिल्ने खालि ठाउँसम्म नभएका ‘बिल्डिङ्’लाई स्कुलको सर्टिफिकेट दिँदै गयौं ।
झट्ट सुन्दा विकासविरोधी जस्तो सुनिन्छ । तर पञ्चायतकै पालामा समेत दूरदृष्टि राखेर विश्विद्यालयको अनुसन्धानका लागि छुट्याइएको जग्गा मासेर रङ्गशाला या भौतिक संरचना बनाउनु सिर्जनशील विकास होइन । पहिला स्कुल, कलेज, जङ्गल र गुठीका खालि जग्गामा आँखा पुऱ्याउने र त्यसपछि विकासका नाममा मनमा जे आउँछ त्यो योजना बनाउने हाम्रो संस्कार छ । भरतपुरमा धुर्मुस रङ्गशाला बन्नु आफैमा राम्रो कुरो हो, तर त्यसका लागि विश्वविद्यालयको जग्गा मासिनु त्यत्ति राम्रो होइन ।

अग्ला अग्ला घर मात्रै होइन, आगामी पुस्ताका लागि सास फेर्ने खुला ठाउँ राखिदिनु पनि ठूलो विकास हो भन्ने हामीले बुझ्न बाँकी छ । पहिलेका शासक या व्यवस्था राम्रो थियो भन्ने उद्देश्य यो गन्थनको होइन, तर पहिलेका शासकले बुझिसकेको विकासको सिर्जनशील मोडल आजका शासकले बुझ्न नसक्नु पक्कै दुःखद पक्ष हो ।

धुर्मुसको सपना पूरा होस्, रङ्गशाला बीचमैं अलपत्र नबनोस् । तर, आगामी योजना बुन्दै गर्दा विकासका अन्य पक्षमाथि पनि विमर्श होस् !

फेसबुकबाट तपाइको प्रतिक्रिया