बिहिबार, चैत १५, २०८०

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, शुक्रबार प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका महासचिव विप्लव एउटै मञ्चमा देखिने भएका छन् । सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने भएका हुन् ।

बिहीबार भएको सहमति अनुसार विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गर्ने, विप्लव समूहका नेता–कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने तथा विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ । सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ ।

शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै वार्ता भएको हो । चन्द समूहले मंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो भने सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरेको थियो । सरकारले चन्द नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।