मङ्गलबार, बैशाख ०४, २०८१

भारतसँग खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ । आइतबार भारतको नयाँदिल्लीबाट एयर इन्डियाको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग सीधै २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आएको हो । खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ’कोल्डरुम’मा लगिने छ ।

यही फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समूहलाई प्राथमिकता दिइनेछ । माघ ८ गते १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । जसअनुसार पहिलो चरणको खोप अभियान सञ्चालन सञ्चालन गरेको थियो ।